इलाम: फाल्गुनन्द सुकिलुम्बा विमानस्थलका लागि तारा एयरले प्राइभेट लिमिटेडले आउँदो फागुन ८ देखि प्रत्येक आइतबार इलामको उडान भर्ने भएको छ ।
उडान भर्ने भएपछि इलाम-काठमाण्डौं हवाई मार्गबाट पनि जान आउँन सकिने बैकल्पिक मार्ग थप हुने भएको छ ।
इलाम नगरपालिकाले १२ उडानको आर्थिक लगायत सबैजसो दायित्व बहनगरी विमानस्थल सञ्चालन गर्ने सम्झौता भएपछि तारा एयरले उडान भर्ने निश्चित भएको हो ।
इलाम-काठमाडौं नियमित उडान-अवतरण गर्न सम्झौता गरेको नगरपालिकाले आइतबार आज पत्रकार सम्मेलनमा नगर प्रमुख महेश बस्नेतले जानकारी गराए ।
तारा एयरको १६ यात्रु क्षमताको जहाज यहाँबाट चल्नेछ । यात्रुको एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको बताइएको छ । इन्धनको मूल्य फेरबदल भएको खण्डमा हवाई भाडा दुर पनि सोही अनुसार फेरबदल हुने सम्झौता पत्रमा उल्लेख छ ।
१२ हप्ताम्म सञ्चानल गर्न नगरपालिकासंग भएको सम्झौतामा एक उडानमा ११ जना कम यात्रु भएमा सोही अनुसारको खुद भाडादर कम्पनीलाई नगरपालिकाले बुझाउनुपर्ने जनाइएको छ ।
तारा एयर प्रालि (प्रथम पक्ष) को तर्फबाट प्रालिका बरिष्ठ निर्देशक सरल शमसेर जबरा र इलाम नगरपालिका (दोस्रो पक्ष) को तर्फबाट नगर प्रमुख महेश बस्नेतले हस्ताक्षर गरेका सम्झौता पत्रमा १२ हप्तापछि हवाई उडानलाई नियमित गर्ने नगर्ने निणर्य एयर कम्पनीले गर्ने बताइएको छ ।
इसेवा वा विमानस्थलकै काउन्टरमा टिकट काट्न सकिने भएपनि तारा एयरले यात्रुलाई भाडामा छुट नदिने बताइएको छ ।
उडान भर्ने सम्बन्धमा अग्रसरता देखाएको इलाम नगरपालिकाले बिमान कम्पनीसँग सम्झौता गर्ने क्रममा अलिक बढी दायित्व लिएको देखिन्छ ।
इलाम एयरपोर्टमा आवश्यक कामदार बढीमा चारजनाको प्रबन्ध इलाम नगरपालिकाले आफनै खर्चमा ब्यहोर्नुपर्ने भएको छ ।
कामदारलाई एक पटकको लागि बिमान कम्पनीले काठमाडौंमा आवश्यक तालिमको प्रबन्ध भने मिलाउने भएको छ । यस्तै बिमानस्थलमा चाहिने आवश्यक पूर्वाधार (सुरक्षासँग सम्बन्धित उपकरण इलाम नगरपालिकाले ब्यबस्था गर्नुपर्नेछ ।
विमानस्थलबाट हवाई सेवा सञ्चालनको तयारी भइरहँदा अझै पनि टर्मीनल भवन, सुरक्षा गार्ड क्वार्टर लगायतका संरचना भने निर्माण हुनै बाँकी रहेको छ ।
नियमीत हवाई सेवा सञ्चालन हुने/नहुने १२ हप्ता सञ्चालन गरेपछि थाहा हुने भएकाले यसलाई परीक्षणका लागि इलाम नगरपालिकाले निजी बिमान कम्पनिसँग दायित्व धेरै बोकेर सम्झौता गरेको नगर प्रमुख बस्नेतको भनाई छ ।
तारा एयरको १९ जना यात्रु बोक्ने क्षमता भएको विमानले २०७५ साल जेठ २१ गते परीक्षण उडान गरेको थियोे ।