इलामः सूर्योदय नगरपालिका-४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्राइभेट लिमिटडको अन्तुभ्याली चिया कारखानामा आगलागी भएको छ ।
आगलागीले १० करोड भन्दा बढिको क्षति भएको बताइएको छ ।
दिउँसो ३ बजेतिर लागेको आगोले एक सय १० फिट लम्बाई ७० फिट चौडाई रहेको चिया उद्योग जलेर नष्ट भएको छ ।
आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन,२४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ ।
कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुम बाहेक अरू सबै संरचना नष्ट भएको बताइएको छ ।
कारखानामा स्टक गरी राखिएको ८० हजार किलोभन्दा बढी तयारी चिया पनि जलेर नष्ट भएको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए ।
सूर्योदय नगरपालिका, इलाम नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको दमकलसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरे पनि उद्योग पूणर्रूपमा जलेर नष्ट भएको बताइएको छ ।
उद्यमी अशोक मुरर्काको उद्योग दैनिक १५ हजार किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमताको थियो ।
२०५३ सालमा स्थापना भएको इलाम टी प्रोडुसर्स प्रालिको उद्योग निजी क्षेत्रबाट स्थापना भएको दोस्रो चिया कारखाना हो ।