ज्वालामुखी विस्फोटन भएपछि टोङ्गामा सुनामी, ठूलो क्षति भएको अनुमान


सेवारो खबर  401 पटक हेरिएको

प्रशान्त महासागरमा पानीमुनि विशाल ज्वालामुखी विस्फोटन हुँदा आएको सुनामीका कारण टोङ्गामा ठूलो क्षति पुगेको विवरण आएको छ । तर सञ्चार सम्पर्क विच्छेद भएकाले उक्त टापुराष्ट्रको अवस्था स्पष्ट हुन सकेको छैन ।

राजधानी नुकु’आलोफाबाट झन्डै ६५ किलोमिटर उत्तरमा अवस्थित हुङ्गाटोङ्गा-हुङ्गा हा’आपाई ज्वालामुखी शनिवार विस्फोटन भएको थियो ।

उक्त विस्फोटन सयौँ किलोमिटर टाढा रहेको अमेरिकासम्म सुनिएको थियो ।

ज्वालामुखी विस्फोटन भएपोछि एक मिटरभन्दा अग्लो छालले टोङ्गाको तटीय क्षेत्रमा प्रहार गरेको थियो ।

न्यूजील्यान्डले ज्वालामुखी र त्यसले सिर्जना गरेको सुनामीको प्रारम्भिक मूल्याङ्कनका लागि त्यहाँ आफ्नो एउटा विमान पठाएको जनाएको छ ।

उक्त विस्फोटनले प्रशान्त क्षेत्रका टापुहरूलाई खरानीले ढाकेको छ भने त्यहाँ विद्युत् र सञ्चार सम्पर्क विच्छेद भएको छल।

रेडक्रसले बीबीसीलाई बताएअनुसार ज्वालामुखी विस्फोटन भएपछि ८० हजारजति मानिस प्रभावित भएका हुन सक्छन् ।

न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले सुनामीले उल्लेख्य क्षति पुर्‍याएको बताएकी छन् ।

अहिलेसम्म कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन । तर क्षतिबारे पर्याप्त सूचना आइसकेको छैन ।

न्यूजील्यान्ड र अस्ट्रेलियाले निरीक्षण गर्न तथा क्षतिको आकलन गर्न विमानहरू पठाउन लागेका छन् ।

आइतवार आर्डर्नले खरानीका कारण खानेपानीलाई दूषित पारेको विवरण आइरहेको भन्दै स्वच्छ पानी पठाउने काम महत्त्वपूणर् हुने बताएकी थिइन् ।

न्यूजील्यान्ड डिफेन्स फोर्सले आफ्नो एउटा विमान त्यसतर्फ गइसकेको जनाएको छ ।

फिजीमा रहेका रेडक्रसका एक अधिकारीले त्यहाँ तत्काल सहायता आवश्यक भएको बताएकी छन् ।

“टोङ्गाभरि ज्वालामुखी विस्फोटन वा विस्फोटनले निम्त्याएका सुनामी तथा बाढीका कारण झन्डै ८०,००० जति मानिस प्रभावित भएको हाम्रो आशङ्का छ,“ उनले भनिन् ।

“उक्त घटना मानिसहरूलाई छक्क पार्नेगरी भएकाले परपरका टापुमा बस्ने मानिसबारे हामी चिन्तित छौँ । अनि हामी मानिसहरूबाट कुरा सुन्न चाहन्छौँ ।“

अधिकारीहरूले सर्वसाधारण मानिसलाई बोतलको पानीमात्र पिउन र मास्क लगाएर बस्न भनेका छन् ।

निकै परसम्म कम्पन महसुस
शनिवार पानीमुनिबाट ज्वालामुखी विस्फोटन हुँदा आकाशमा धुँवा र खरानीको विशाल मुस्को देखिएको थियो। ज्वालामुखिका कारण झन्डै १.२ मिटर (चार फिट) अग्ला छाल टोङ्गासम्म पुग्ने चेतावनी जारी भएको थियो ।

विस्फोटन यति विशाल थियो कि त्यो टोङ्गाबाट २,३८३ किलोमिटरपर अवस्थित न्यूजील्यान्डसम्म सुनिएको थियो ।
उक्त विस्फोटनपछि उत्पन्न कम्पन प्रशान्त क्षेत्र र बाहिरसम्मै महसुस गरिएको थियो ।

ज्वालामुखीबाट निस्किएको छारोले ढाकिएको हुनाले टोङ्गा अहिले “चन्द्रमाको जमिनजस्तो“ देखिएको टोङ्गाका लागि न्यूजील्यान्डका एक कूटनीतिक दूतले बताएका छन् ।

विस्फोटन हुनुअघि र पछि के भयो ?
खरानीका कारण आकाश धुम्मिएको बेला होचा तटीय क्षेत्रमबाट मानिसहरू अन्यत्र भाग्न खोजिरहेको र ट्राफिक जाम भएको भिडिओहरू सार्वजनिक भएका छन् ।

केही घण्टापछि टोङ्गामा इन्टरनेट र फोन लाइन बन्द भए । अनि त्यहाँ बस्ने एक लाख ५,००० मानिसको सम्पर्क बाह्य संसारसँग भङ्ग भयो ।

शनिवार ठूलो विस्फोटन हुनुअघि केही दिनदेखि ज्वालामुखी सक्रिय भइरहेको थियो। टोङ्गाको मौसम निकायले केही क्षेत्रमा सल्फर र एमोनियाको गन्ध आएको जानकारी आएको भन्दै चेतावनी जारी गरेको थियो ।
न्यूजील्यान्डकी प्रधानमन्त्रीले केही स्थानमा फेरि विद्युत् आपूर्ति गर्ने प्रयास भएको र मोबाइल फोनले बिस्तारै काम गर्न थालेको बताएकी छन् ।

तर केही तटीय क्षेत्रको स्थिति अज्ञात छ ।

भूउपग्रहबाट प्राप्त तस्बिरमा परपर रहेका केही टापु पानीमा पूरै डुबेको सङ्केत देखिन्छ ।

विज्ञहरूका अनुसार हुङ्गा टोङ्गा -हुङ्गा-हा’आपाई ज्वालामुखी धेरै दशकयता उक्त क्षेत्रमा विस्फोटन भएको एउटा शक्तिशाली ज्वलामुखी हो ।

उक्ता ज्वालामुखी विस्फोटनका कारण जापान, संयुक्त राज्य अमेरिकासहित कैयौँ देशमा सुनामीको चेतावनी जारी भयो । अमेरिकाका क्यालिफोर्निया र अलास्का राज्यका तटीय क्षेत्रसम्म बाढी पुग्यो ।@www.bbc.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार