काठमाण्डौ: नेपालको राष्ट्रिय जनगणना-२०७८ को तथ्याङ्क अनुसार देशको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।
केन्द्रीय तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजाका अनुसार देश भरी महिलाको संख्ष एक करोड ४९ लाख एक हजार एक सय ६९ रहेको छ भने पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ रहेको छ ।
पुरुष भन्दा महिलाको संख्या छ लाख नौ हजार आठ सय ५८ जनाले मात्रै बढी छ ।
नतिजामा ‘अन्य लिङ्गी’हरू समेटिएका छैनन् । विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार जनगणनाको पहिलो चरणमा सङ्कलित अन्य लिङ्गीहरूको तथ्याङ्क आठदेखि नौ महिनाभित्र सार्वजनिक गरिनेछ ।
विभागका अनुसार नेपालमा जनसंख्या वृद्धिदर ०.९३ रहेको छ । विसं २०६८ सालको तथ्याङ्क अनुसार उक्त दर १.४० प्रतिशत थियो ।
तुलनात्मक रूपमा जनसंख्या वृद्धिदर घटेको विभागका उपमहानिर्देशक रेग्मीले जनाए ।
जनसंख्या बढेको जस्तो देखिए पनि वृद्धिदर १ प्रतिशत भन्दा कम भएको छ । यसले नेपाल पनि विकासशील देशको सूचीमा उक्लिने सङ्केत गर्ने उपहानिर्देशकको भनाई छ ।
त्यस्तै जनघनत्व एक सय ९८ जना प्रतिवर्गकिलोमिटर रहेको तथ्याङ्क छ । एक दशकअघि नेपालमा जनघनत्व एक ८१ जना प्रतिवर्गकिलोमिटर थियो ।
बुधवार सार्वजनिक तथ्याङ्क अनुसार विदेशमा रहेका नेपालीको संख्या २१ लाख ६९ हजार चार सय ७८ छ ।
सार्वजनिक तथ्याङ्क जनगणना गर्दा हरेक गणकलाई दिइएको ‘कन्ट्रोल बुक’ अर्थात् फारमहरू समेटिएको किताबको आवरणमा उल्लिखित विवरणमा आधारित छ ।@www.bbc.comबाट ।