तारा एअरले फागुन ११ गतेदेखि फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा साताको दुई उडान भर्ने


सेवारो खबर  495 पटक हेरिएको

काठमाडौंः तारा एअरले इलामको फाल्गुन्द सुकिलुम्बा विमानस्थलमा फागुन ११ गतेदेखि साताको दुई उडान भर्ने भएको छ ।

निर्माण प्रक्रिया थालेको २० वर्षपछि सुकिलुम्बा विमानस्थलमा तारा एअरले साताको आइतबार र बिहीबार काठमाडौंखि सुकिलुम्बा उडान भर्न लागेको तारा एअरका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।

धावनमार्ग कालोपत्रे भई परीक्षण सम्पन्न भएसँगै नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका तथा तारा एयरको संयुक्त पहलमा उक्त विमानस्थलमा साताको दुई वटा नियमित उडान हुन लागेको हो ।

विमानस्थलको धावनमार्ग कालोपत्रे हुनुअघि पनि विसं २०७५ जेठ २१ गते तारा एअरको ट्वीनअटर जहाजले परीक्षण उडान गरेको थियो । ११ फागुनदेखि काठमाडौंबाट बिहान ११ बजे र इलामबाट दिउँसो १२ः३० उडान गर्ने तालिका रहेको प्रवक्ता बर्तौलाले बताए । काठमाडौंदेखि इलामसम्मको उडान अवधि करिब एक घण्टाको हुनेछ । हवाई यात्राका लागि हाल एकतर्फी भाडा ९ हजार रुपैयाँ कायम गरिएको छ ।

इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पर्यटन बोर्ड तथा तारा एअरको पहलमा नियमित उडान सञ्चालन गर्न लागेकोमा आभार प्रकट गर्दै आगामी दिनमा यात्रुले सहुलियत दरमा नियमित सेवा पाउने विश्वास व्यक्त गरे । इलामलाई प्रकृति र संस्कृतिको संगम रहेको र पर्या-पर्यटन, कृषि-पर्यटन, चिया पर्यटन, धार्मिक-सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना पनि रहेको उनले बताए ।

नेपाल पर्यटन बोर्डका सदस्य एवं पर्यटन व्यवसायी कृष्ण शाहले हवाई सेवा नियमित हुनसके इलाम जाने पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान हुँदा इलाम, पाँचथरसहित भारतको दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राका लागि सहज हुने विश्वास गरिएको छ ।@www.onlinekhabar.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार