इलामः आउँदो चैत २६ देखि ३० गतेसम्म नेपाल सरकारले बालबालिकालाई टाइफाइड रोग विरूद्वको खोप दिने भएको छ ।
जन्मेको १५ महिना कटेका १५ वर्ष मुनिका सबै बालबालिकालाई खोप दिइने जिल्ला स्वास्थ कार्यालयका प्रमुख आदित्य शाक्यले जनाकरी दिए ।
जिल्लाका सामुदायिक तथा संस्थागत सबै विद्यालय र स्वास्थ्य संस्थामा खोप केन्द्र राखेर खोप लगाउने तयारी भएको कार्यालयका खोप सुपरभाइजर गंगाधर पण्डितले बताए ।
स्वाथ्य कार्यालयका अनुसार जिल्लामा लक्षित समुह भित्र ६४ हजार ४ सय बालबालिका छन् । विद्यालय भित्र रहेका बालबालिकाको संख्या भने ४५ हजार ८ सय ५८ रहेको छ ।
विद्यालय बाहिर रहेका १५ महिना देखि माथिका पाँच वर्ष मुनिका बालबालिकाको संख्या १८ हजार ५ सय ४२ रहेको छ ।
खोप लगाउन जिल्लाका सबै पालिकाका सबै स्वास्थ्यकर्मीलाई तालिम दिइसकिएको र शिक्षकहरूसँग समेत अन्तक्रिया गरिएको जनाइएको छ ।
‘यो खोप लगाउँदा सामान्य जीउ दुख्ने र सामान्य ज्वरो आउने हुनसक्छ, यो खोप टाइफाइड विरुद्ध लड्ने रोग प्रति रोगी क्षमता वृद्धि गर्ने हो ।’ त्यसैले कसैले पनि खोप लगाउँदा डराउनु नपर्ने खोप सुपरभाइजर पण्डितले बताए ।
उच्च ज्वरो आएका र शरीरमा एलर्जी समस्या देखिएकालाई भने खोप नलगाइने बताइएको छ । कोभिड खोप पनि चलिरहेकाले कोभिड विरुद्ध खोप लगाएको १४ दिन पछिमात्र टाइफाइड विरुद्धको खोप लगाउन मिल्ने जनाइएको छ ।
मानव शरीरमा उच्च ज्वरो आउने, टाउको, जीउ दुख्ने, पेट दुख्ने, पखाला लाग्ने, सुख्खा खोकी लाग्ने, वाकवाकी लाग्ने जस्ता लक्ष्यण देखिने टाइफाइडको मुख्य लक्षण रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।