बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामले नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सव मनायो


सेवारो खबर  204 पटक हेरिएको

इलाम: बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेट इलामले द्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्द डटकमको छैटौं वार्षिक उत्सव मनाएको छ ।

वार्षिक उत्सवको अवसरमा पत्रकार बालकृष्ण बस्नेतलाई सम्मान गरेको छ । बस्नेतलाई प्रमुख अतिथि नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष लवदेव ढुङ्गानाले सम्मान पत्र प्रदान गरे ।

बस्नेतले पत्रकारिताका माध्यमबाट ग्रामीण क्षेत्रको समुदायमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्राइभेट लिमिटेडका संचालक एवम् नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङले जानकारी गराए ।

बस्नेत पाँच वर्षदेखि ग्रामीण पत्रकारितामा क्रियाशील छन् । बस्नेत नयाँ बुलन्दसँगै इलामबाट संचालित रेडियो नेपालपाणी एफएममा समेत आवद्ध छन् । उनी नेपाल पत्रकार महासंघ इलामका कार्यसमिति सदस्य समेत हुन् ।

बुलन्द मल्टिटेक्निकल मिडियाले आफ्नो वार्षिक उत्सवको अवसरमा बर्सेनी एक जना उदयीमान पत्रकारलाई सम्मान गर्दै आएको छ । यसअघि प्रकाश नेपाल र युद्धबहादुर बोहोरा सम्मानित भईसकेका छन् ।

वार्षिक उत्सवका अवसरमा प्रदेश उपाध्यक्ष ढुङ्गानासहित नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारीका अध्यक्ष भीम चापागाई, नेपाल प्रेस युनियनका सचिव टीका खतिवडा, प्रेस सेन्टरकी अध्यक्ष बुद्धमाया सोङ्मी, समाजवादी प्रेस संगठनका अध्यक्ष रमेश पराजुली, नेपाल आदिवाजी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष याम माबोहाङ, फोटो पत्रकार महासंघका अध्यक्ष राजेश पराजुली, इलाम पोष्ट दैनिकका ख्याम भुजेल, चियाबारी एफएमका बिक्रम सुन्दास, सन्दकपुर अनलाइनका भगीरथ भण्डारी, नेपाल टेलिभिजनका विजयशेखर भट्टराईले मन्तव्य राखेका थिए ।

नयाँ बुलन्द डटकमका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपसम्पादक युद्धबहादुर बोहोराले गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्न संचार संस्थामा कार्यरत संचारकर्मीहरुको उपस्थिति थियो ।

२०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ । वार्षिक उत्सवको अवसरमा शुभकामना आदानप्रदानसँगै नयाँ बुलन्दले प्रकाशन गरेको सन्देशमूलक वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०७९ सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष ढुङ्गानासहित उपस्ति जिल्लाका संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार