पिपुल्स पावर लिमिटेडको सेयर साउन ५ गतेसम्म आवेदन दिन पाइने


सेवारो खबर  245 पटक हेरिएको

इलामः पिपुल्स पावर लिमिटेडले खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ । सेयरमा लगानी गर्नेले आउँदो साउँन ५ गतेसम्म आवेदन दिन पाउँने भएका छन् ।

निष्काशन बन्द छिटोमा असार २२ गते हुने भनिएकोमा माग बमोजिम आवेदन नपरेकोले आवेदन दिने म्याद साउन ५ गतेसम्म थप गरिएको जनाइएको छ ।

कम्पनीले असार ८ गते बिक्री खुला गरेको कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि सेयर निष्काशन गरेको थियो ।

कम्पनीले आफ्नो जारी पूँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता एक सय अंकित मूल्यका ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो ।

बिक्री खुला गरेको सेयर मध्ये जिल्लाको इलाम नगरपालिका वडा नम्बर १ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दालाई एक लाख ८९ हजार ७ सय ८० कित्ता बाँड्ने भएको छ । जिल्लाका बासिन्दालाई ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर बाँडफाँट गर्ने बताइएको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइने छ ।

आईपीओ खुला गर्न रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

इलामबासीले पिपुल्स पावरको शेयर कसरी भर्ने ?
प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आईपीओमा आवेदन दिन सक्ने सुविधा सञ्चालनमा ल्याएको छ ।

८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आईपीओमा पनि अब इलामका स्थानीयले अनलाइन मार्फत नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । यसैगरि ग्लोबल आइएमई बैकको इलाम शाखामा गएर पनि शेयर फारम भर्न मिल्छ ।
आयोजना प्रभावित स्थानीयहरूले प्रभु क्यापिटलको वेबसाइट मार्फत आफ्नो व्यक्तिगत विवरण र स्थानीयका लागि तोकिएको कागजातसहित खरिद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् ।

यसबाट हित ग्राही खाता खोल्न बाँकी रहेका तथा हित ग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । आवेदन गरिसकेपछि लगानीकर्ताहरूले इसेवा, खल्ती तथा प्रभु पेमार्फत अनलाइन रकम भुक्तानी गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार