ताइवान: चीनको सैन्य अभ्यास जारी अमेरिकाको आलोचना


सेवारो खबर  190 पटक हेरिएको

चीनले आफूमाथि आक्रमण गर्न अभ्यास गरेको ताइवानले बताएपछि संयुक्त राज्य अमेरिकाले बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ ।

ताइवानले चिनियाँ सैन्य अभ्यासको “यथोचित“ प्रतिक्रिया दिइएको जनाएको छ। बेइजिङले त्यस्तो अभ्यास थालेको आइतवार चौथो दिन हो ।

ह्वाइट हाउसका अनुसार चीनले ताइवानबारे विद्यमान “यथास्थिति फेर्न“ प्रयास गरिरहेको छ ।
अमेरिकी सभामुख न्यान्सी पलोसीको नेतृत्वमा एउटा अमेरिकी प्रतिनिधिमण्डलले गत साता ताइवानको भ्रमण गरेपछि अमेरिका र चीनबीच तनाव चुलिएको छ ।

चीनले उक्त भ्रमणलाई ताइवानमाथिको आफ्नो स्वामित्व रहेको दाबीलाई चुनौती दिइएको ठानेको छ। यद्यपि ताइवान आफूलाई छुट्टै राज्य मान्छ ।

चिनियाँ जहाज र विमानहरूले सप्ताहान्तमा ताइवान स्ट्रेटमा विभिन्न गतिविधि गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । उसका अनुसार तीमध्ये केहीले चीन र ताइवानबीच विद्यमान अनौपचारिक मध्यवर्ती रेखा नाघेका थिए ।
तिनलाई चेतावनी दिन ताइवानले पनि आफ्ना लडाकु विमानहरू उडाएको थियो ।

आरोप र आग्रह
ताइवानी सेनाले चीनले ताइवानमाथि आक्रमण गर्न त्यसरी अभ्यास गरेको बताएको छ ।

आइतवार बिहान विमान र पानीजहाज परिचालन गरेर वास्तविक शस्त्रास्त्र गरिएका अभ्यासहरूको “यथोचित“ प्रतिक्रिया दिइएको ताइवानको सेनाले भनेको विवरण रोएटर्स समाचारसंस्थाले प्रकाशित गरेको छ ।

ताइपेईमा संवाददाताहरूसँग बोल्दै ताइवानी प्रधानमन्त्री सू जन-चाङले चीनले क्षेत्रीय स्थिरता भङ्ग गर्न “हठपूर्वक“ सैन्य अभ्यास गरेको आरोप लगाएका छन् ।

यद्यपि उनले चिनियाँ पक्षलाई संयमित हुन आग्रह गरेका छन् । बेइजिङले आफ्नो सैन्य अभ्यासबारे टिप्पणी गरिसकेको छैन ।
यद्यपि आइतवारसम्म ताइवाननजिकै आकाश र समुद्रमा सैन्य अभ्यास जारी रहने अनुमान गरिएको छ ।
अनावश्यक सैन्य गतिविधि गरेर चीनले तनाव बढाएको आरोप वाशिङ्टन डीसीले लगाएको छ ।

“यी गतिविधिहरू यथास्थिति फेर्ने प्रयासमा चीनले गरेको एउटा ठूलो घटना हो। ती उत्तेजनापूणर् र अनुत्तरदायी छन् अनि तिनले मिथ्या अनुमानको जोखिम बढाउँछन्,“ ह्वाइट हाउसका एक प्रवक्ताले भने ।

“ती ृगतिविधिहरूे ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम राख्ने हाम्रो लामो लक्ष्यप्रतिकूल पनि छन् ।“
चीनले पलोसीको ताइवान भ्रमणका कारण ताइवान स्ट्रेटको शान्ति र स्थिरतामा “गम्भीर“ असर पुगेको बताएको छ ।
चीनले ताइवानलाई आफूबाट छुट्टिएको प्रान्त मान्छ र अन्ततः बेइजिङको नियन्त्रणमा ल्याउन सकिने ठान्छ ।
तर छुट्टै शासनव्यवस्था भएको ताइवानले आफूलाई मुख्यभूमि चीनभन्दा पृथक् ठान्छ ।

अरू देशका नेताहरूले ताइवानलाई छुट्टै मान्यता दिएको सङ्केत पाउँदा चीन आक्रोशित हुन्छ । चीनले शुक्रवार पलोसी र उनका परिवारजनविरुद्ध प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

पलोसीको भ्रमणबाट रिसाएको चीनले अमेरिकासँग जलवायु परिवर्तन, सैन्य वार्ता र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणको प्रयासजस्ता केही महत्त्वपूणर् विषयमा सहकार्य स्थगित गर्ने घोषणा गरेको छ ।

वाशिङ्टनसँग वार्ताका महत्त्वपूणर् माध्यम अवरुद्ध पारेर चीनले “अनुत्तरदायी पाइला“ चालेको अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले आरोप लगाएका छन् ।

लामो समयदेखि चीनको आलोचकका रूपमा चिनिएकी पलोसी चिनियाँ चेतावनीलाई वेबास्ता गर्दै मङ्गलवार ताइवान पुगेकी थिइन् ।

पच्चीस वर्षपछि ताइवान भ्रमण गर्ने उनी वरिष्ठतम अमेरिकी अधिकारी हुन् ।

ताइवानमा हुँदा उनले “विश्वले निरङ्कुशता र प्रजातन्त्रबीच“ एकलाई रोज्नुपर्ने बताएकी थिइन् ।

चीन-ताइवान सम्बन्ध
किन चीन र ताइवानबीच राम्रो सम्बन्ध छैन? सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए । तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ ।

ताइवानमा कस्तो शासन छ? ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कुल तीन लाख सैनिक छन् ।

के ताइवानले छुट्टै राष्ट्रको मान्यता पाएको छ? ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन् । धेरैले चिनियाँ सरकारलाई मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर उक्त टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ ।@www.bbc.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार