संघीय चुनावमा एमाले एक्लै ११, राप्रपालगायतसँग मिल्दा २३ सिट: निर्वाचन विश्लेषण


सेवारो खबर  195 पटक हेरिएको


नजिकै चुनाव आइसकेकाले र गत स्थानीय तहको चुनावको मात्रै नभएर संसद विघटनताकका तिक्तता समेत आम कार्यकर्ता माझ रहेकाले आजका दिनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तत्कालै कुनै चमत्कारपूणर् चुनावी समीकरण या गठबन्धन बन्न कठिन देखिएकाले आउँदो संघीय चुनाव एमालेका लागि कठिनसाध्य हुने देखिन्छ ।

आउँदो मंसीर ४ गतेका लागि सरकारले संघ तथा प्रदेशको चुनाव घोषणा गरेको छ। चुनावी सरगर्मी बढ्दै गर्दा आउँदो संघीय सरकार कुन पार्टीको नेतृत्वमा बन्ला भन्ने चासो सर्वत्र छ । संघीय चुनावमार्फत केन्द्रीय सरकार निर्माण हुने भएकाले मूख्य चासो भने केन्द्रीय (संघीय) चुनावको छ। संघीय संसदमा प्रतक्ष्यतर्फ जम्मा १६५ संसदीय क्षेत्र छन् ।

केही समस्याहरू सतहमा देखिए पनि आउँदो चुनावमा समेत अहिलेको सत्ता गठवन्धन कायमै रहने छ । त्यसको मतलब, ठूलो अदलबदल र हेरफेर नहुने हो भने गत चुनावकै भोटिङ प्याट्रन अहिलको चुनावमा पनि देखिन सक्छ । यदि स्थानीय तहको चुनावको मानसिकतामा भोटरहरू रहने र थपिएका भोटरहरूले पुरानै लहरमा भोट हाल्ने हो भने आउँदो संघीय चुनाव एमालेका लागि सहज देखिन्न । किनकि देशभरबाट पपुलर भोटमा कांग्रेससँग प्रतिस्पर्धा गर्दागर्दै पनि यदि गत स्थानीय चुनावकै अवस्था रहेमा एमाले एक्लैले जम्मा ११ संघीय क्षेत्रमा मात्रै सीमित हुनसक्ने देखिन्छ। गत चुनावमा देशभरका वडा अध्यक्षहरूले पाएको मतका आधारमा यो मत विश्लेषण गरिएको हो ।

अघिल्लो स्थानीय तहको चुनावको डेटा अनुसार एमालेले जित्न सक्ने क्षेत्रहरूमा काठमाडौं ५, चितवन २, झापा १, झापा २, झापा ५ , परासीपूर्व २, पर्वत, पाल्पा १, मनाङ, मुस्ताङ र सिन्धुली २ हुन् । यी निर्वाचन क्षेत्रहरूमध्ये चितवन २ मा भने एमाले ११ भोटले मात्रै अघि छ । मनाङमा ३८ भोटले एमाले अघि छ । पर्वतमा एमाले ४६५ भोटले अघि देखिन्छ भने बाँकीमा ५०० भन्दा बढी मत अन्तरले एमाले अघि देखिन्छ । त्यसो हुँदा चितवनको ११ मतान्तरमा भर नपर्ने हो भने एमाले एक्लैले देशभरबाट १० सिटमा मात्र चित्त बुझाउनुपर्नेछ । यो भयो, एमाले एक्लै चुनाव लड्दा आउनसक्ने परिणाम विश्लेषण ।

एमाले एक्लैको ५ दले गठबन्धन भन्दा बढी मत भएका निर्वाचन क्षेत्र

काठमाडौं ५-१७९७ मतले एमाले अघि
चितवन २-११ मतले एमाले अघि
झापा १ – २०१६ मतले एमाले अघि
झापा २- ६०८ मतले एमाले अघि
झापा ५- ६८२१ मतले एमाले अघि
परासीपूर्व २- ९२० मतले अघि
पर्वत – ४६५ मतले एमाले अघि
पाल्पा १ – ६५७ मतले एमाले अघि
मनाङ – ३८ मतले एमाले अघि
मुस्ताङ- ३८६ मतले एमाले अघि
सिन्धुली २ – १८७६ मतले एमाले अघि

एमालेले गत चुनावमा जस्तै यो चुनावमा पनि राप्रपासँग समिकरण कायम राख्ने अनुमान छ । र, एमालेसँग राप्रपा मिल्दा थप कति ठाउँमा एमालेले जित्ला त ? स्थानीय तहको निर्वाचनतको तथ्यांक विश्लेषण गर्दा राप्रपासँग एमाले मिल्दा थप ८ ठाउँमा जित्ने अनुमान गर्न सकिन्छ। राप्रपासँग समिकरण गर्दा झापा ३, काठमाडौं ९, कास्की २, दाङ २, प्युठान, भक्तपुर २, सुनसरी १, झापा ४ मा एमाले र राप्रपाको समिकरणले जित्ने देखिन्छ। तर यहाँ पनि उल्लेखनीय कुरा के छ भने राप्रपासँग एमाले नारिँदा पनि दाङ २ मा १३६ मतले मात्रै उ अघि छ भने प्युठानमा १६६ मतले मात्रै अघि छ। यसो हुँदा, एमाले एक्लै लड्दा ११ र राप्रपासँग मिल्दा ८ गरेर देशभरबाट संघीय चुनावमा एमाले र राप्रपा गठबन्धनले जम्मा १९ सिट जित्ने अनुमान गर्न सकिन्छ ।
एमाले र राप्रपाको गठबन्धन भएमा ५ दले गठबन्धन भन्दा बढी मत भएका निर्वाचन क्षेत्र

झापा ३ – ९०७० मतले अघि
काठमाडौं ९- ६०७ मतले अघि
कास्की २- ८३१ मतले अघि
दाङ २- १३६ मतले अघि
प्युठान- १६६ मतले अघि
भक्तपुर २- ४४७ मतले अघि
सुनसरी १ -३८४५ मतले अघि
झापा ४ – ४६९ मतले अघि

एमाले र राप्रपामा जनमत पार्टीको मत मिसाउँदा

उसो त एमालले सिके राउतको राष्ट्रिय जनमत पार्टीसँग गत स्थानीय तहको चुनावमा पनि समिकरण बनाएर लडेको थियो । जनमत पार्टीसँगको चुनावी समिकरणले एमालेको भोट बढ्नेछ तर त्यसले कुनै सिट दिलाउने छैन ।

एमाले, राप्रपा, जनमत पार्टी र लोकतान्त्रिक समाजवादीको मत मिलाउँदा

र, बाँकी रह्यो, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी। त्यस पार्टीसँग पनि स्थानीय तहमा एमालेले समिकरण बनाएको थियो। र, आाउँदो चुनावमा एमालेले राप्रपा, जनमत पार्टी र लोसपासँग समिकरण गर्दा बारा र रुपन्देहीका चार थप क्षेत्रमा विजय हासिल गर्न सक्छ। लोसपासँग समिकरण बनाउँदा एमाले गठबन्धनले थप ४ सिट हाता पार्नसक्नेछ, जसमा बारा ४, रुपन्देही १, रुपन्देही र रुपन्देही ४ पर्दछन् ।

बारा ४ – १०८९ मतले बढी
रुपन्देही १ – १३२ मतले बढी
रुपन्देही ३- ४२५ मतले बढी
रुपन्देही ४- ९१४० मतले बढी

यसो हुँदा, एमाले एक्लै ११ र अन्य दलसँगको १२ गरी एमाले नेतृत्वको गठवन्धनले जम्मा २३ सिट जित्ने अनुमान गर्न सकिन्छ। उल्लेख गरिएको १२ सिटमा एमाले, राप्रपा, लोसपा र जनमतले सिटहरू बाँड्नेछन्। र, स्थानीय तहको चुनावको मतलाई आधार मान्दा वर्तमान पाँच दलीय सत्ता गठबन्धनबाट प्रत्येक संघीय क्षेत्रबाट ५-५ हजार मत खोस्न सक्यो भने एमाले नेतृत्वको चुनाबी गठबन्धले बढीमा ३८ संघीय सिट हात पार्न सक्नेछ ।

र, गत स्थानीय चुनाव हार्नुको प्रमुख कारण अन्तर्घात हो भनेर एमाले नेतृत्वले ठहर गरेको सन्दर्भमा यदि सोही खालको आन्तरिक असहयोग र अन्तरघात एमालेमा अब पनि कायम रहने हो भने र टिकट वितरणमा स्थानीय जनताको आवाजभन्दा केन्द्रका केही विशेष नेताहरूको निगाह र हैकम कायम रहने हो भने एमालेले यहाँ उल्लेखित सिट संख्याभन्दा पनि कममा चित्त बुझाउनु पर्ने हुन्छ ।

त्यसरी हेर्दा एमालेका लागि आउँदो चुनावको अंकगणीत अत्यन्तै पेचिलो छ । नजिकै चुनाव आइसकेकाले र गत स्थानीय तहको चुनावको मात्रै नभएर संसद बिटघटनताकका तिक्तता समेत आम कार्यकर्ता माझ रहेकाले आजका दिनमा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीबीच तत्कालै कुनै चमत्कारपूणर् समीकरण या चुनावी गठबन्धन बन्न कठिन देखिएकाले आउँदो संघीय चुनाव एमालेका लागि कठिनसाध्य हुने देखिन्छ ।@nepalreaders.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार