सत्यनारायणलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष बनाउँन आदिवासी जनजाति पत्रकार महासंघले बुझायाे ज्ञापन पत्र


सेवारो खबर  184 पटक हेरिएको

इलामः स्व.सत्यनारायण बहादुर श्रेष्ठलाई  नेपाल पत्रकार महासंघले संस्थापक अध्यक्ष बनाउँन माग गर्दै नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) इलामले पनि ज्ञापनपत्र बुझाएको छ । फोनिजले पत्रकार महासंघकाे सबै जिल्ला शाखमा ज्ञापन पत्र बुझाएकाे हाे ।

फोनिजले श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष रहेको तथ्यलाई स्थापित गर्न माग गरेको बताइएको छ ।

नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुन् भन्ने तथ्य विभिन्न दस्तावेजहरुले पुष्टि गरेको भएपनि नेपाल पत्रकार महासंघले कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मानेकोप्रति फोनिजको विमति रहेको ज्ञापनपत्रमा उल्लेख छ ।

‘नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासंघसँग जोड्दार माग गर्दछौं’ ज्ञापनपत्रमा उल्लेख छ ।

हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुखसमेत हुन् । २००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उनैलाई महासंघको संस्थापक अध्यक्ष मान्नुपर्ने फोनिजको माग छ । ९ बैसाख २००८ मा सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २८ बैसाख २००९ मा पुर्नगठन गरेको इतिहास रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । तर १६ चैत २०१२ मा पुर्नगठन हुँदामात्र कृष्णप्रसाद उपाध्याय भट्टराई अध्यक्ष बनेको तथ्यले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक अध्यक्ष पुष्टि भईसकेको अवस्थामा महासंघले भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको उल्लेख ज्ञापनपत्र छ ।

ज्ञापनपत्र बुझाउँदै फोनिज इलामका अध्यक्ष राम योङहाङले पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु गलत रहेको उल्लेख गर्दै माग सम्बोधनका लागि पहल गर्न आग्रह गरेका थिए ।

ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईले ज्ञापनपत्र तत्काल केन्द्रिय कार्यालयमा पठाएर फोनिजको माग सम्बोधनका लिग पहल गर्ने प्रतिवद्धता जनाए । फोनिजले ज्ञापनपत्रसँगै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको तस्वीर समेत बुझाएका छन् ।

को हुन् श्रेष्ठ ?

सत्यनारायण बहादुर श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक थिए । उनैको सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्न गरिएको छ ।

उनको सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रोसभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो ।

यसको तीन वर्षपछि मात्र दोस्रो नेपाल पत्रकार संघको गठन भएको थियो । २०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बनेका थिए । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार बर्षपछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार