दमकः लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दै गएको पाइएको छ, भने अन्य जातिमा भाषाको मोह बढ्दै गएको देखिएको छ । यस्तो अवस्था दमक नगरपालिका वडा नम्बर ७ स्थित श्री पृथ्वी माध्यमिक विद्यालयमा ऐच्छिक विषय लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरूको तथ्याङ्कले देखाएको छ ।
दमक नगरपालिकाले शैक्षिक सत्र २०७८ देखि लागु हुने गरी लिम्बु भाषालाई प्रद्र्धधन गर्ने गरी एक जना लिम्बु भाषा शिक्षक व्यवस्था गर्ने गरी निरन्तर अनुदान दिने नीति निर्माण गरी अघि सारे अनुरूप शैक्षिक सत्र २०७८ देखि पृथ्वी माविमा एकजना लिम्बु भाषा शिक्षक नियुक्ती गरी १०० पुणर्ाङ्कको लिम्बु भाषा ऐच्छिक विषयको रुपमा पढाई हुँदै आइरहेको छ । सोहि अनुरुप अहिले लिम्बु भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले लिम्बु भाषा पढाईरहेका छन् । यो भन्दा अगाडि पनि यस विद्यालयमा लिम्बु भाषा सहायक शिक्षक नन्दा लिम्बुले पढाउँदै आएकी थिइन् ।
किरात याक्थुङ् चुम्लुङ्को ३४ औं स्थापना दिवसको पावन अवसरमा शुभकामना बाँड्दै श्री पृथ्वी माविमा लिम्बु भाषा अध्ययन गर्ने छात्र छात्राहरुलाई शैक्षिक सामग्री बाँड्ने क्रममा विद्यार्थीको यथार्थ संख्या हेर्ने मौका मिल्यो । लिम्बु भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले जानकारी दिए अनुसार लिम्बु भाषा अध्ययन गर्ने ९० जना विद्यार्थी मध्ये २२जना मात्र लिम्बु विद्यार्थी रहेको पाइयो । अन्य ६८ जना विद्यार्थी राई, क्षेत्री, बाहुन, शाह, मगर, तामाङ् लगायतका जातिहरु रहेको पाइयो । यस आँकडाले लिम्बु जातिमा लिम्बु भाषाको मोह घट्दै गएको र अन्य जातिमा लिम्बु भाषाको मोह बढ्दै गएको देखाएको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रमको भेटघाटमा दमक नगरपालिका वडा न.ं ७ का वडा अधयक्ष भिमप्रसाद पौडेलले लिम्बु भाषा पढ्ने लिम्बु जातिका छोराछोरी कम भएपनि अन्य जातिका छोरा छोरीले मजाले रुची लिएर पढ्दै आएको देखेर खुशी व्यक्त गर्नुहुँदै भाषा कुनै एक जातिको मात्र पेवा नभएको प्रतिक्रिया दिनुभयो । भाषाको माध्यमबाट अरुको शिक्षामा भएको हरेक मानवी उत्प्रेरक ज्ञान, गुण र व्यावहार सिक्न सकिन्छ जो जीवन पद्धतीमा अत्यन्तै उपयोगी हुन सक्छ ।
यसैगरी विद्यालय प्रधानाध्यापक विष्णुकुमार राईले लिम्बु विद्यार्थी कम भएपनि अन्य जातिले रामरी लिम्बु भाषा पढ्दै आएको र आजसम्म कुनै अवरोधका कुराहरु विद्यालयमा नभएकोले लिम्बु भाषासँग सम्बन्धित संघ-संस्था, भाषा अभियन्ता र स्थानीय सरकारले यस कार्यक्रमलाई हरेक कोणबाट सहयोग पुर्याउँदै जान अनुरोध गर्नुभयो ।
भाषा शिक्षक दिपेन्द्र सेलिङ्ले विद्यालयमा लिम्बु विद्यार्थीहरुले लिम्बु भाषा पढ्न चाहेपनि अभिभावकले लिम्बु भाषा पढ्न नदिएको तितो अनुभव सुनाउनुभयो ।
किरात याक्थुङ् चुम्लुङ्का पूर्व केन्द्रिय उपाध्यक्ष, समाजसेवी धिरेन लावतीले लिम्बु भाषा पढ्नमा लिम्बु जातिमा केहि अरुची भएजस्तो देखिएपनि विस्तारै विस्तारै मोह बढ्दै आएको पाइन्छ । लिम्बु भाषामा भएको व्यावहारिक शिक्षाको उपयोगको बारेमा लिम्बुजन्य संघसंस्थाहरुले प्रेरणादायिक जनचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने सुझाउनुभयो ।
कार्यक्रममा उपस्थित कियाचु संघीय सदस्य इक्सा सम्बाहाङ्फे, राष्ट्रिय चुम्लुङ् सदस्य गुमानसिं सम्बाहाङ्फे, प्रदेशस सदस्य कविन्द्र सेर्मा, कियाचु झापा अध्यक्ष सेसेहाङ् फियाक, याक्थुङ् लेखक संघका कोषाध्यक्ष साङ्सेन पन्धाक, कियाचु दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ्, लिम्बु स्रस्टा रचना लावती, पत्रकार डिल्लीश्वर मुसाहाङ् लगायतका महानुभावहरु पृथ्वी माविमा अध्ययन गर्ने लिम्बु विद्यार्थीहरुको आङकडा देखेर लिम्बु भाषाको मोह बढाउन जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेर अभिभावकमाझ जानुपर्ने कुरा सुझाउनुभएको छ ।
यसैबिच किरात सिरजिङ्गा लिपि र लिम्बु भाषा उत्थान, विकास, संरक्षण संबद्र्धन गर्न लागिपरेका संघ-संस्था, अभियन्ता र धार्मिक संघ-संस्थाहरू कुन भाषिक नीतिमा अलमलिरहेका छन् भन्ने कुरामा जनचासो बढेको देखिन्छ ।