काठमाण्डौं: मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फ देशभरि गरेर कुल पाँच हजार ६ सयभन्दा बढी उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फ हुने निर्वाचनमा उम्मेदवारी दिनेको अन्तिम नामावली प्रकाशित गर्दै उक्त विवरण सार्वजनिक गरेको हो ।
आयोगका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कुल १ सय ६५ सदस्यका लागि विभिन्न दल तथा स्वतन्त्र गरी कुल २ हजार ४ सय १२ उम्मेदवारहरूले चुनावी प्रतिस्पर्धा गर्न लागेका छन् ।
त्यसमध्ये २ हजार १ सय ८७ जना पुरुष र २ सय २५ जना महिला रहेका छन् । यो बुधवार साँझ ८ बजेसम्म यकिन गरिएको देशैभरिको विवरण भएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले बताए ।
उनले भने, “यो प्रारम्भिक विवरण हो। त्यसैले यसमा एकाध विवरण घटबढ पनि हुनसक्छ ।“
निर्वाचन आयोगले सार्वजनिक गरेको चुनावी कार्यक्रम अनुसार गत आइतवार दशैभरि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका लागि उम्मेदवारी दर्ता भएको थियो ।
प्रदेशसभामा कतिको प्रतिस्पर्धा ?
भुसालले दिएको जानकारी अनुसार देशका सातवटा प्रदेशसभामा प्रत्यक्ष तर्फ कुल ३ हजार २ सय २४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्यसमध्ये २ हजार ९ सय ४३ जना पुरुष र २ सय ८० जना महिला रहेका छन् । त्यस्तै प्रदेशसभामा आफ्नो लैङ्गिक पहिचान ’अन्य’ भनेर चिनाउने एकजनाले पनि उम्मेदवारी दिएका छन् ।
देशका सातवटै प्रदेशमा गरी प्रत्यक्षतर्फ कुल ३ सय ३० प्रदेशसभा सदस्यका लागि निर्वाचन हुँदैछ ।
गत आइतवार उम्मेदवारी दर्ता गराएकामध्ये उजुरीका आधारमा खारेज भएका र फिर्ता लिएकाहरूको सङ्ख्या घटाएर बुधवार आयोगले अन्तिम नामावली प्रकाशित गरेको हो ।
प्रदेशसभामा पनि विभिन्न दलहरूका साथै स्वतन्त्र उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।@www.bbc.comबाट ।