राष्ट्रपति पदका लागि पौडेल र नेम्वाङको उम्मेद्वारी दर्ता


सेवारो खबर  92 पटक हेरिएको

काठमाण्डौंः आगामी २५ गतेका लागि तय गरिएको राष्ट्रपति निर्वाचनमा दुई जना पूर्वसभामुख बीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिका लागि शनिवार उम्मेदवारी दर्ता गराएका छन् । दुवैजना पूर्व सभामुख हुन् भने नेम्वाङ संविधानसभाका अध्यक्ष समेत भएका थिए ।

पौडेलको प्रस्तावक र समर्थकमा आठ दलका नेता छन् भने नेम्वाङको प्रस्तावक र समर्थकमा नेकपा एमालेका सांसदहरू मात्रै रहेका छन् ।

उम्मेदवारी दर्ताका लागि पौडेल प्रधानमन्त्री पुष्पकमल दाहालसँगै संसद् भवन परिसर नयाँ बानेश्वरमा स्थापना गरिएको निर्वाचन कार्यालय पुगेका थिए ।

पौडेलको समर्थक र प्रस्तावक को को छन ?
पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोक कुमार राई र जनमत पार्टीका अब्दुल खान छन् ।

समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुर, कांग्रेसका पूणर्बहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र माओवादीका हितराज पाण्डे छन् ।

यसअघि शनिवार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निणर्य गरेको थियो ।
मनोनयन दर्तापछि पौडेलले आफूले सर्वसम्मत राष्ट्रपति हुन पहल गर्ने बताए ।

“संविधानको अक्षर र भावनालाई अक्षरशः पालना गर्ने मेरो कर्तव्य हुन्छ,” आफू निर्वाचित भएको अवस्थामा गर्ने कामबारे प्रतिबद्धता जनाउँदै उनले भने ।

“गणतन्त्रलाई संस्थागत गर्ने चुनौती छ म संविधानको रक्षा गर्ने, सार्वभौमसत्तालाई बलियो गर्ने राष्ट्रिय एकता र अखण्डता बलियो बनाउने काम गर्छु ।”

नेम्वाङको समर्थक र प्रस्तावक को छन् ?
एमाले अध्यक्ष ओली नेताहरूसहित नेम्वाङको उम्मेदवारी दर्ता गराउन पुगेका थिए ।

नेम्वाङको उम्मेदवारीमा पार्टी अध्यक्ष केपी ओली सहित नेताहरू पृथ्वीसुब्बा गुरूङ, गोकणर्राज विष्ट, रघुबीर महासेठ र छविलाल विक प्रस्तावक छन् ।
समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका छन् ।

उम्मेदवारी दर्तापछि नेम्वाङले आफू सबैको उम्मेदवार हुने र निर्वाचित हुने आशा व्यक्त गरे ।

“म त्यो दायित्व संविधानभित्र रहेर पूरा गर्छु,” उनले भने ।

पूर्व प्रधानमन्त्री ओलीले नेम्वाङ अनुभवी र संविधान निर्माणमा समेत योगदान पुर्‍याएको व्यक्ति भएको बताए। संविधानको रक्षा र कार्यान्वयनका लागि उनको उम्मेदवारी दिइएको ओलीको भनाई छ ।

“हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्रै होइन स्वागतको विषय बन्दछ। हरेक मतदाताका निम्ति मतदान गर्न प्रेरित गर्ने हुन्छ,” ओलीले ।
पुस १० गते नै राष्ट्रपतिको उम्मेदवारबारे पनि माओवादी सहितका दलहरूसँग सहमति भइसकेको ओलीको दाबी थियो ।

“वर्तमान सरकार गठन गरेकै बेला पुस १० गते नै यसबारे एक ढङ्गले टुङ्गो लागिसकेको थियो। हामीले सार्वजनिक नगरेको मात्रै हो,” माओवादीको निणर्यलाई हल्लाको संज्ञा दिँदै ओलीले भने ।

“आफूले गरेका प्रतिबद्धताबाट कोही पनि पछि नहट्ने विश्वास हामीलाई छ।” उनले नेम्वाङको उम्मेदवारी कुनै दाउपेच नभएको पनि बताए ।
अध्यक्ष ओलीले अहिले नै भावी राष्ट्रपतिमा कसले जित्छ भन्ने टुङ्गो नलागिसकेको उल्लेख गर्दै आफ्ना उम्मेदवारले सफलता पाउने विश्वास पनि व्यक्त गरेका थिए ।

तर पौडेलको मनोनयनलाई समर्थन गर्ने दलहरूको सङ्घीय संसद् र प्रदेश सभामा कायम मतभार हेर्दा उनी गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्ने निश्चित देखिन्छ ।

राष्ट्रपति निर्वाचनको प्रक्रिया
शनिवार बिहान १० बजेदेखि ३ बजेसम्म तय गरिएको मनोनयन दर्ताको समयमा पौडेल र नेम्वाङको मात्रै उम्मेदवारी परेको हो ।

आगामी पाँच वर्षका लागि राष्ट्रपति चयन गर्न फागुन २५ गते निर्वाचन हुँदै छ । राष्ट्रपति निर्वाचनमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यले मात्रै मतदान गर्न पाउँछन् ।

सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्यको मतभार फरक हुने व्यवस्था संविधानमा छ । अहिले सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गतेबाट सकिँदै छ ।

त्यसअघि फागुन २७ मा उपराष्ट्रपतिका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको कार्यसूची निर्वाचन आयोगले प्रकाशन गरेको छ ।
उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ३ गते सकिँदैछ ।@hbbc.com/nepaliबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार