‘कोशी प्रदेश’ जातीय साम्प्रदायिक नाम’-लिम्बुवान किरात संघर्ष समिति

कोशी प्रदेश विरुद्धमा बिराटनगरमा आन्दोलन


सेवारो खबर  189 पटक हेरिएको

विराटनगरः प्रदेश १ को नाम लिम्बुवान किरात राख्नु पर्ने माग गर्दै आएको लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश जातीय साम्प्रदायिक नाम भएको बताएको छ ।

समितिले कोशी प्रदेशको सट्टा ‘लिम्बुवान, किरात प्रदेश’ हुनुपर्ने माग राख्दै कोशी प्रदेश विरुद्धमा बिराटनगरमा आन्दोलन शुरु गरेको बताइएकाे छ ।   सम्पूर्ण पहिचान वादीलाई आन्दोलनमा  सरिक हुन अनुरोध समेत गरेका छन्  ।

‘कोशी प्रदेश’ नेपाली जनताको साझा नामको हवाला दिएर शासक जातीय साम्प्रदायिक नाम राख्ने सडयन्त्र भएको ठहर गर्दै लिम्बुवान, किरात संयुक्त सङ्घर्ष समितिले खेद व्यक्त गर्दै असहमति जाहेर गरेको छ ।


बुधबार विज्ञप्ती जारी गर्दै प्रदेश नम्बर १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनिको नामबाट बनेको कोशी नदीबाट ‘कोशी प्रदेश’ राख्ने षडयन्त्र भएको भन्दै समितिले खेद व्यक्त गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘प्रदेशहरूको नामकरण गर्ने सन्दर्भमा उत्पीडनकारी औपनिवेशिक एवम् सामन्ती केन्द्रीकृत एकात्मकवादी चिन्तनको धङ्धङी झल्कने गरी पञ्चायती शैलीमा जबरजस्ती ढङ्गले गण्डकी, बागमती लगायत नामहरू राखिएको र प्रदेश नम्बर १ मा शासक जातीय पहिचानमा आधारित कौशिकी ऋषिमुनिको नामबाट बनेको कोशी नदीबाट ‘कोशी प्रदेश’ नेपाली जनताको साझा नामको हवाला दिएर शासक जातीय साम्प्रदायिक नाम राख्ने सडयन्त्र भइरहेकोमा त्यसप्रति हामी खेद व्यक्त गर्दछौँ र असहमित जाहेर गर्दछौँ ।’

जनादेश अनुरूप पहिचानमा आधारित पछिल्लो ‘मधेश प्रदेश’ नामकरण भएसँगै नामकरण गर्न बाँकी रहेको प्रदेश नम्बर १ को नाम प्रदेश नम्बर १ को प्रदेश सभाले विना कुनै छलफल र बहस छापामार शैलीमा नामकरण गर्न लागेको सन्दर्भमा हामी तपसिलका राजनीतिक, सामाजिक तथा सामुदायिक सङ्घसंस्थाहरूको ध्यानाकर्षण भएको जानकारी गराउँन चाहन्छौँ ।

विगतमा संविधानसभाको विषय समिति र राज्यपुनर्संरचना उच्चस्तरीय आयोगबाट सिफारिस भए बमोजिमका पहिचानमा आधारित प्रदेश नामहरू सुनिश्चि हुनुपर्ने थियो तर सोको मर्मविपरीत ७ प्रदेशको घोषणा भएको विज्ञप्तीमा उल्लेख छ ।

नेपाली कांग्रेस सम्बद्ध लिम्बू संघका उत्तमसिंह थाम्देन, नेकपा एमाले नेपाल लोकतान्त्रिक किरात लिम्बूू संघका त्रिवेणी चोङबाङ, नेकपा माओवादी केन्द्र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका मुुक्सामहाङ मेन्याङबो, जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका खगेन्द्र माखिम खाम्बेक, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कुमार लिङ्देन, राष्ट्रिय जनमुक्ति पार्टीका केपी पालुुङवा र किरात याक्थुुङ चुम्लुुङका प्रेम येक्तेनले हस्ताक्षर गरेको विज्ञप्तीमा भनिएको छ- ‘ऐतिहासिक लिम्बुवान, किरात आन्दोलन, मधेस आन्दोलन, आदिवासी आन्दोलन, आदिवासी जनजाति आन्दोलन, २००७ सालको क्रान्ति, निरङ्कुश पञ्चायत विरुद्धको आन्दोलन, १० वर्षे जनयुद्ध, २०६२/६३ को जनआन्दोलनको जनादेश अनुसार ऐतिहासिक पृष्ठभूमिको आधारमा लिम्बुवान र माझ किरातको रैथाने आदिवासीले ढालफाड गरेर निर्माण गरेको भूगोल १४ जिल्लाको प्रदेश नम्बर १ लाई प्रदेश सभाबाट साझा संयुक्त पहिचानको आधारमा ‘लिम्बुवान, किरात प्रदेश’ नाम राख्नु पर्दछ भनी यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौँ । यस मागलाई नजरअन्दाज गरी लिम्बुवान नाम समावेश नगरी पहिचान विरोधी कोशी प्रदेश नाम राखिए त्यसको सशक्त प्रतिरोध गर्दै हामी दीर्घकालीन रूपमा आन्दोलनमा होमिन बाध्य हुने र त्यसले हामी नेपाली जनताको दीगो शान्ति र अमन चयनमा समेत असर गर्ने सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार