बिराटनगरः सरकार ढल्ने निश्चित भएपछि कोशी प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न समिति गठन गरेको छ ।
मंगलबार मात्रै माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि एमाले नेता हिक्मत कार्की नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो ।
फागुन १७ मा नामकरण गरेपछि नामबारे कुनै छलफल नहुने बताउँदै आएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि वार्ता समिति बनाएका छन् ।
प्रदेशका खानेपानी तथा सिँचाइ मन्त्री तिलकुमार मेयाङ्बोको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन भएको सरकारका प्रवक्ता भक्ति सिटौलाले बताए ।
समितिको सदस्यहरूमा कृषि मन्त्री भक्ति सिटौला र सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी छन् ।
फागुन १७ मा प्रदेशसभा बैठकबाट प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन्। आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ भने झडपहरू नियमित रूपमा भइरहेका छन् ।@setopati.comबाट ।