सन्दकपुर गाँउपालिका स्तरीय बाल सञ्जाल गठन

किन ? बाल सञ्जाल, कसरी गठन हुन्छ, काम, कर्तव्य र अधिकार


याम माबोहाङ लिम्बू  655 पटक हेरिएको

सन्दकपुरः इलामको सन्दकपुर गाउँपालिकामा मंगलबार बाल सन्जाल गठन भएको छ । गाउँपालिका, बाल अधिकार समिति र मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यवद्वता परियोजनाको सहकार्यमा बाल सन्जाल गठन भएको हो ।

सञ्जालको अध्यक्षमा प्रबोध माध्यमिक विद्यालयका सिम्रन मगर उपाध्यक्षमा सरस्वती माध्यमिक विद्यालयका पुजन सुवेदी, सचिवमा आदरणिय माध्यमिक विद्यालयका आयेजा राई, सहसचिवमा श्याम्बल माध्यमिक विद्यालयका अंसिका विश्वकर्मा र कोषाध्यक्षमा भगवती माध्यमिक विद्यालयका निकिता सापकोटा रहेका छन् ।

यस्तै सदस्यहरूमा माईपोखरी संस्कृत माध्यमिक विद्यालयका अमित राई, निकिता निरौला, निशान्त खड्का प्रबोध माध्यमिक विद्यालयका सविन मगर, श्याम्बल माध्यमिक विद्यालयका शरण राई, भगवती माध्यमिक विद्यालयका प्रज्वल फागो, सरस्वती माध्यमिक विद्यालयका सबिना भट्टराई, आदरणिय माध्यमिक विद्यालयका सगुन राई र निशान्त खड्का छानिएका छन् ।

कार्यक्रममा पालिका अध्यक्ष तुलाराम गुुरूङ, प्रशासकीय प्रमुख महेश राई, बाल कल्याण अधिकारी सरिता खतिवडा, माध्यमिक विधालयका संरक्षक शिक्षक, बाल क्लबका प्रतिनिधि को उपस्थितिमा सञ्जालन गठन गरिएको हो ।

१५ जनाको कार्य समिति रहने सञ्जालमा २ सदस्य पछि मनोनित गरिने जनाइएकाे छ । पालिकामा अहिले १० वडा बाल क्लब गठन भएको छ ।

मानव अधिकार मञ्च नेपाल इलामको बाल संरक्षणका लागि ऐक्यवद्वता परियोजना अन्तर्गत चार जिल्लाको चार पालिकालाई बालबालिकाको क्षेत्रमा नमुना पालिका बनाउँन परियोजनाले काम गर्दै आएको परियोजना संयोजक रूद्र थेबेल जानकारी गराए ।

परियोजना अनुसार सन्दकपुर गाउँपालिकामा बालबालिकाको क्षेत्रमा ऐन तथा कार्यविधीमा तोकिएको सबै संरचनाको व्यवस्था गर्दै कार्यान्वयनको काममा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ ।

के हो ? बाल सञ्जाल, कसरी गठन हुन्छ

गाउँपालिकाको बाल अधिकार संरक्षण तथा सम्वर्धन सम्बन्धि कार्यविधि २०७९ अनुसार पालिकाको विद्यालय तथा वडास्तरमा गठन भएका बाल क्लबहरूको सञ्जाल नै बाल सञ्जाल हो । सञ्जालले विद्यालय तथा वडामा गठन बालक्लबहरूको प्रतिनीधित्व गरेको हुन्छ ।

कार्यविधीको दफा १० मा बाल क्बल सञ्जाल गठन तथा सञ्चालन हुनेछ । यसमा बाल क्लबहरू बीच आपसी समन्वय, सहकार्य बढाउने तथा सवालहरूको सामुुहिकीकरण गर्न, बाल सहभागितालाई संस्थागत गर्न र एक आपसमा सिकाइएका अवसर सिर्जना गर्न बाल क्लब सञ्जालको गठन गर्न सकिने व्यवस्था छ ।

वडामा एक भन्दा बढी बाल क्लबहरू गठन भएको खण्डमा वडा स्तरमा पनि वडा स्तरीय बाल सञ्जाल हुनेछ । कार्यविधीका अनुसार वडामा कम्तिमा एउटा बाल क्लब सञ्जाल अनिवार्य हुनेछ ।

वडा स्तरीय सञ्जालमा प्रत्येक बाल क्लबबाट एक बालक, एक बालिका र एक जना अपाङ्गता भएका, दलित तथा पिछाडिएका अल्प संख्यक समुदायका बालबालिका गरी ३ जना सहभागिता रहने व्यवस्था छ । यसरी वडामा भेला भएकोब बाल भेलाले ११ सदस्यीय वडा स्तरीय बाल क्लब सञ्जाल गठन गर्नेछ ।

पालिका स्तरीय सञ्जालमा प्रत्येक वडाबाट २ बालक, २ बालिका र एक जना अपाङ्गता भएका, दलित तथा पिछाडिएका अल्प संख्यक समुदायका बालबालिका रहने गरी ५ जना प्रतिनिधी सहभागि भएको बाल भेलाले पालिका स्तरीय बाल सञ्जाल गठन गर्ने व्यवस्था छ । भेलाले १५ सदस्यीय बाल सञ्जाल गठन हुनेछ व्यवस्था छ ।

वडा तथा पालिका स्तरको सञ्जालमा समाजिक समावेशिकरणलाई ध्यान दिई ३३ प्रतिशत बालिकाको सहभागितालाई सुनिश्चित हुनुपर्ने कार्यविधीमा उल्लेख छ । यस्तै अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष मध्ये मम्तिमा दुुई पदमा बालिका हुनुपर्ने व्यवस्था छ ।

बाल सञ्जालले के गर्छ ?

पालिकामा गठन भएका बालक्लबहरुमा बाल सहभागिताको अधिकारलाई सुनिश्चित गर्न, आपसी समन्वय, सहकार्य बढाउँने तथा बालबालिकाको सवालहरूको सामुहिकीकरण गर्ने काम गर्दछ । यसका साथै एक आपसबाट सिकाइका अवसरहरू सिर्जना गर्ने कार्यविधीमा उल्लेख छ ।

कार्यविधीको दफा १२ मा बाल सञ्जालको काम कर्तव्य र अधिकारको बारेमा उल्लेख गरिएको छ । ११ बुँदामा व्यवस्था भएको काम बाल सञ्जालले गर्नुु पर्ने व्यवस्था छ ।

बाल सञ्जाले स्थानीय क्षेत्रका बालबालिकाको बारेमा अभिलेख राख्ने, पुस्तकालय तथा सूचना केन्द्र स्थापना गरी सञ्चालन गर्ने । बाल क्लब तथा बालबालिकाको समग्र विकासको सवालमा जनप्रतिनीधि, स्थानीय सरोकारवाली तथा संघ संस्थासँग समन्वय, सहयोग र सहजिकरण गर्ने व्यवस्था छ ।

बाल बालिकाको अधिकारसँग सम्बन्धित योजना तर्जुमा कार्यान्वयन र मुल्याङ्कनमा सम्पूणर् चरणमा प्रतिनिधित्वको माग गर्ने । बालबालिका माथि हुने दुव्र्यवहार, हिंसा, हेला, हेपाइ, सामाजिक कुरिती र विभेद जस्ता बालअधिकार हननका घटना विरूद्व सम्बन्धित सरोकारवालासँग बहस तथा पैरवी गर्नेछ ।

कार्यक्षेत्रमा विद्यालय भर्ना, जन्मदर्ता, बाल विवाह, बालमैत्री वातावरण, खुला दिसामुक्त क्षेत्र, बालमैत्री स्थानीय शासन, विद्यालय भयरहित शिक्षण सिकाईको सम्बन्धमा बालबालिकासँगसँगै गर्ने अभियानका कार्यक्रम सञ्चालन गर्ने तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार