इलामः इलाम नगरपालिका ११ को बेलासे गाउँलाई जलवायु अनुकूलित गाउँ बनाइने भएको छ ।
नामसालिड. सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामले क्यानेडियन राजदूतावासको सहयोगमा बेलासेमा जलवायु अनुकूलन सम्बन्धि परियोजना थालेको छ । यो कार्यक्रममा इलाम नगरपालिका र एनसीडिसीले पनि लगानी गर्ने जनाइएको छ ।
‘नमुना जलवायु अनुकूलित गाउँ मार्फत जलवायु उत्थानशीलता बढाइँ प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपहरूको प्रभाव न्युनिकरण गर्ने’ परियोजना आठ महिनासम्म सञ्चालन हुने जनाइएको छ ।
जलवायु परिवर्तनको हिसाबले जोखिममा रहेको, बस्ती माथि पानीको श्रोत सुकेको, सम्भावना भएको तर जोखिम क्षेत्र भएकोले जलवायु अनुकूलित बनाउन पहल थालिएको जनाइएको छ ।
कार्यक्रम मार्फत जलवायु अनुकूलन योजना निर्माण गरिने एनसीडिसीका कार्यक्रम अधिकृत सुबोध निरौलाले बताए । कार्यक्रम सञ्चालनको लागि सरोकारवाला निकाय तथा स्थानीयसँग छलफल सकिएको छ । बेलासेको ५० घर परिवार माईखोला नजिक रहेकोले माईखोलाको सम्भावित जोखिम र जलवायु परिवर्तनको हिसाबले संवेदनशील रहेको छ ।
माइखोलाको पानी सोलार सिस्टमबाट लिफ्टीड. गरी गाउँमा पुर्याइने, प्रत्येक घरमा पानीको सुविधा पुर्याई बाझो जमिनमा जलवायु मैत्री कृषि प्रणाली सुुरू गर्ने परियोजना मार्फत तालिम र विउविजन समेत वितरण गरिने छ ।
इलाम झापा द्रुतमार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने एनसीडिसीका टिम लिडर हिराकाजी घलेले जानकारी दिए ।
इलाम नगरपालिका ११ का वडाध्यक्ष टासी जवेगुले बेलासे क्षेत्रमा स्थानीय लक्षित कार्यक्रम प्रभावकारी बन्ने बताए ।
सुख्खा क्षेत्रमा पर्ने यो बस्तीमा परियोजना मार्फत बेलासेको बाँझो जमिन सिचाई गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको छ ।
माइखोला आसपासको बेलासेमा हजारौँ जमिन बाँझै रहेको र त्यहाँ सिचाईको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्तामको भनाई छ ।
परियोजना कुल ६५ लाख ४५ हजार ६ सय ३६ लागतमा सञ्चालन हुने जनाइएको छ ।
इलाम नगरपालिका, क्यानेडियन राजदूतावास र एनसिडिसीको साझेदारीमा नमुना गाउँ निमाणर् गर्न नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा राखेको छ । onlineradionepal.gov.np बाट ।