जीवन विकास लघुवित्त वित्तीय संस्थाका कर्मचारीले माफी मागेपछि पत्रकारसँगको विवाद समाधान


सेवारो खबर  200 पटक हेरिएको

इलाम: जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेका छन् ।

समाचारको विषयलाई लिएर पत्रकार लिलाबहादुर लिम्बूलाई धम्की दिने जीवन विकास लघुवित्त वित्तीय संस्था मिक्लाजुङ रवि, पाँचथरका प्रमुख र कमर्चारीले माफी मागेपछि मौखिक रूपमा विवाद समाधान भएको छ ।

मंगलबार विहान फाकफोकथुम गाउँपालिका-४ स्थित पत्रकार लिम्बूको घरमा आएर लघुवित्तका प्रमुख महेश्वर मण्डल, सहायक प्रमुख रविन यादव र कर्मचारी सौगात राईले माफी मागेपछि विवाद समाधान भएको लिम्बुले जानकारी गराए ।

संस्थाको कर्मचारी सौगात राईबाट भूलवस गल्ती भएको गर्दै आगामी दिनमा त्यस्तो गल्ती नदोहोरिने प्रतिवद्धतासहित माफी मागेका बताइएको छ ।

पत्रकार लिम्बूलाई धम्की दिने कर्मचारी राईले रेकर्ड गरेको भिडियो सार्वजनिक नगरी डिलिट गर्ने सहमति समेत भएको जनाइएको छ ।

लघुवित्तका कर्मचारी राईले समाचार लेखेको विषयलाई लिएर आइतबार विहान पत्रकार लिम्बूको घरमा गएर ‘समाचार किन लेखेको ? पत्रकार हो भने परिचयपत्र खोई ? एकलौटी समाचार लेख्ने ? म पनि युट्युबर हुँ’ भन्दै धम्क्याउनुका साथै बिना अनुमति पत्रकार लिम्बूको भिडियो समेत खिचेर लगेका थिए ।

घटना सार्वजनिक भएपछि नेपाल पत्रकार महासंघ र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश समिति र इलाम शाखा एवम् प्रेस सेन्टर नेपाल इलामले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई कारबाही गर्न प्रशासनको ध्यानाकर्षण गराएको थियो ।

लोकल सन्देश डटकममा आवद्ध लिम्बू नेपाल पत्रकार महासं इलाम शाखा सदस्य, फोनिज इलाम शाखा कार्यसमिति सदस्य, प्रेस सेन्टर इलामका उपाध्यक्ष हुन् ।

लिम्बूले २०८० साउन २७ गते ‘लोकल सन्देश डटकम’मा ‘बचतकर्ताले बचत फिर्ता नपाएको गुनासो’ शीर्षकमा समाचार प्रकाशन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार