पहिचानवादी जागरण उदयपुर घुर्मीदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म 

मंसिर २६ र २७ गते मध्यपहाडी लोकमार्ग घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवा भन्ज्याङसम्मको सडक बन्द


सेवारो खबर  1377 पटक हेरिएको

घुर्मीः कोशी नाम खारेज गरी पहिचानको आधारमा नाम राख्न माग गर्दै आएको प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङसम्म पहिचानवादी जागरण चलाउँदै छ ।

बिहीबार उदपुरको घुर्मी बजारमा एक औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको उद्घाटन गरिएको छ । जसलाई संघर्ष समितिले ‘घुर्मी-चिवाभन्ज्याङ पहिचानवादी जागरण-२०८०’ भनेको छ ।

कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनलाई सशक्त बनाउनका लागि जागरण अभियान सुरु गरिएको हो ।

‘हामी भोलिदेखि नै अभियानमा हिँड्छौं,’ पहिचानका लागि युवाका केन्द्रीय संयोजक भीम राईले भने, ‘अभियानको क्रममा आन्दोलनको आवश्यकताबारे स्पष्ट पार्ने र संगठन विस्तार गर्ने काम गर्छौं ।’

अभियान अन्तर्गत आगामी मंसिर २५ गते विभिन्न १८ स्थानमा सांस्कृतिक साहित्यिक कार्यक्रम सहितको कोणसभा गरिने छ भने मंसिर २६ र २७ गते मध्यपहाडी लोकमार्ग अन्तर्गत उदयपुरको घुर्मीदेखि खोटाङको दिक्तेल हुँदै चिवा भन्ज्याङसम्मको सडक बन्द गरिने छ ।


पहिचान आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई सो क्षेत्रमा कुनै पनि हालतमा हिँड्न नदिने किरात राई यायोक्खाका महासचिव समेत रहेका संयोजक राईले बताए ।

‘कुनै पार्टीलाई छेक्ने हाम्रो रणनीति होइन,’ उनले भने, ‘तर हाम्रो आन्दोलनको विरुद्धमा बोल्नेहरुलाई चाहिँ जुनसुकै पार्टीको भए पनि हामी छिर्न नै दिँदैनौँ ।’

संघर्ष समितिले कोशी प्रदेश नामकरणमा हस्ताक्षर गर्ने ८२ जना प्रदेश सांसदहरुलाई विरोध गर्ने पहिल्यै घोषणा गरेको छ ।
संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमको अध्यक्षतामा भएको कार्यक्रममा घुर्मीदेखि ओखलढुंगा हुँदै सोलुसम्मको सडकलाई ‘बलबहादुर राई मार्ग’ पनि घोषणा गरिएको थियो ।

जसमा पूर्वमाओवादी नेता गोपाल किराती, जनता समाजवादी पार्टीको किरात राष्ट्रिय समिति अध्यक्ष रमेश राई, नेकपा एकीकृत समाजवादीका नेता कृष्ण चोङबाङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष राकेश राई, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, नेपाल आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष निकी शेर्पा, पशुपतिनाथ मन्दिरको पहिलो नेपाली भट्ट डा. विष्णु दाहाल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार