राष्ट्रिय सभाका १९ सीटका लागि बिहीवार भएको निर्वाचनमा कोशी प्रदेशको एकबाहेक सबै सीटमा सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले बिहीवार साँझ सार्वजनिक गरेको परिणामअनुसार गठबन्धनका १८ जना र विपक्षी नेकपा एमालेका एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका हुन् ।
आगामी फागुन २० गतेदेखि राष्ट्रिय सभाका २० जना सदस्यको पद रिक्त हुँदै छ।
त्यसमध्ये बिहीवार १९ जना चयनका लागि निर्वाचन भएको हो भने एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने छन्।
दुई-दुई वर्षमा राष्ट्रिय सभाको एकतिहाइ सदस्यको पद रिक्त हुने गर्छ।
कति थिए उम्मेदवार ?
यसपालि १९ पदका निम्ति आठ दलका ५१ उम्मेदवार प्रतिस्पर्धामा थिए ।
आगामी फागुन २० गते कार्यकाल सकिने राष्ट्रिय सभा सदस्यमा नेकपा एमालेका आठ जना, नेपाली कांग्रेसका चार जना, नेकपा माओवादी केन्द्रका तीन जना, नेकपा एकीकृत समाजवादीका दुई जना र जनता समाजवादी पार्टीका एक जना र दुई स्वतन्त्र सांसद छन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि कार्यकाल सकिने सांसदमा पर्छन् ।
यो निर्वाचनका लागि सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीलगायतका दलहरूले तालमेल गरेर उम्मेदवार अगाडि सारेका थिए ।
विपक्षी दलहरू नेकपा एमाले र राप्रपाले पनि गठबन्धन गरेका थिए ।
को निर्वाचित भए ?
निर्वाचन आयोगका अनुसार सात प्रदेशमा निम्न उम्मेदवार विजयी भएका छन्:
- कोशी प्रदेश: नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र एमालेकी रुक्मिणी कोइराला
- मधेश प्रदेश: कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाकी पूजा चौधरी
- बागमती प्रदेश: कांग्रेसकी विष्णुदेवी पुडासैनी र जीतजङ्ग बस्नेत, माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र समाजवादीका घनश्याम रिजाल
- गण्डकी प्रदेश: कांग्रेसका किरणबाबु श्रेष्ठ र पदम परियार एवं माओवादीकी मनरुपा शर्मा
- लुम्बिनी: कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादीका झक्कुप्रसाद सुवेदी
- कर्णाली प्रदेश: नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल, माओवादीका विष्णुबहादुर विक र कांग्रेसका कृष्णबहादुर रोकाया
- सुदूरपश्चिम प्रदेश: कांग्रेसका नरदेव भट्ट र बलदेव बोहरा एवं माओवादीकी रेनु चन्द
विगतमा जस्तै गठबन्धनबीचको तालमेलका कारण प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभामा सीट गुमाउनुपर्यो ।
मतदाता कति थिए?
राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ ।
यसपालि ५४९ जना प्रदेश सभा सदस्य एवं गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जना मतदाता थिए ।
प्रदेशसभा सदस्यतर्फको कुल मतदाता ५५० रहेकोमा एक जनाको निधन भएकाले सङ्ख्या कम देखिएको हो ।
त्यसैगरी निधन भएका गाउँपालिका अध्यक्ष एक जना, उपाध्यक्ष एक जना, नगरपालिका उपप्रमुख एक जना र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक जना एवं नगरपालिकाका प्रमुख चार जना गरी आठ जनाको नाम मतदाता नामावलीमा परेको थिएन ।
मतभार कसको कति ?
मतदातामध्ये प्रदेश सभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ थियो ।
यस पटकको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश सभा सदस्यको कुल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ रहेको निर्वाचन आयोगले जनाएको छ ।@bbc.comबाट ।