इलाम: मानव अधिकार मञ्च नेपाल इलामले कक्षा ८ मा पढ्दै गरेकी बालिकाको जन्मदर्ता प्रमाण पत्र बनाउन प्रक्रिया थालेको छ ।
जन्मदर्ता नहुँदा २ वर्षदेखि एउटै कक्षामा पढ्दै गरेकी १५ वर्षकी अनिशा (नाम परिवर्तन)को जन्मदर्ता प्रमाण पत्र बनाउँन सरोकारवालासँग समन्वयको काम थालेको मञ्चका कार्यकारी निर्देशक देबेन्द्र विश्वकर्माले जानकारी गराए ।
जन्मदर्ता नभएकै कारणले पढाईमा बाधा आउनु दुखद भएको बताउँदै निर्देशक विश्वकर्माले जन्मनु दोष नभएकाले यथासिघ्र प्रकृया पुर्याएर जन्मदर्ता गराई दिनु पर्नेमा जोड दिए ।
‘अनिशाको जन्मदर्ताको प्रकृयागत सहजिकरणका लागि कार्यालयमा निवेदन आएपछि विभिन्न सरोकारवाला व्यक्तिसँग समन्वय गरिरहेका छौ । जन्मेको वडा कार्यालयसँग समेत छलफल भई सकेको छ । प्रकृयागत रुपमा जन्मदर्ता हुन्छ’, कार्यकारी निर्देशक विश्वकार्माले भने ।
वडा कार्यालयमा जन्मदर्ताको समस्या लिएर अहिलेसम्म कुनै पनि सेवाग्राही नआएको र सेवाग्राही आए तत्काल आवश्यक प्रकृया पुर्याई जन्मदर्ता गरिदिने वडा अध्यक्षले प्रतिबद्धता व्यक्त गरेको मानव अधिकार मञ्च नेपाल इलामले जनाएको छ ।