‘चन्द्रगिरी हिल्स लिमिटेड ७ दिन भित्र मुक्कुमलुङ छोड’


सेवारो खबर  84 पटक हेरिएको

इलाम: मुक्कुमलुङ छोड आन्दोलनरत संस्थाहरुले काठमाण्डौको चन्द्रगिरी हिल्स लिमिटेडलाई ७ दिन भित्र मुक्कुमलुङ (पाथीभरा) छोड्न आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका व्यापारी चन्द्र ढकाललाई काठमाण्डौमा शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै केबुलकार निर्माणको काम बन्द गर्न आग्रह गरेका हुन ।

आदिवासी लिम्बू समुदायको पवित्र मुन्धुमी थलो मुक्कुमलुङमा केबुलकार नबनाउँने विषयमा पटक/पटक भएका सहमतिहरुलाई लत्याउदै जर्वजस्ती केबलकार बनाउन खोजेको भन्दै निर्णायक  आन्दोलन मुक्कुमलुङ छोड सुरु गरेको गरेको जानकारी गराए ।

मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्रीप्रसाद लिम्बु, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बु, किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेन, लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजीकरण समुहका संयोजक नन्द कन्दङवा, प्रदेश नं. १ प्रदेश पुनः नामाङ्कन संयुक्त संघर्ष समितिका संयोजक प्रेम येक्तेन, प्रदेश नं. १ प्रदेश पुनःनामाङ्कन अभियान समितिका महासचिव रामभक्त कुरुम्बाङ र मुक्कुमलुङ तान्सेःप् चुम्भोको प्रतिनिधि सरस्वता सिङ्गक(सरु)ले संयुक्त पत्रकार सम्मेलनमा मुक्कुमलुङलाई अतिक्रमण हुन नदिन मुन्धुमीस्थलको रुपमा संरक्षण, प्रवर्धन, विकास, व्यवस्थापन र नियन्त्रण गर्न मुक्कुमलुङ छोड आन्दोलन सुरुवात गरेको जानकारी गराए ।

पत्रकार सम्मेलनमा केबुलकार निर्माण कम्पनीले मुक्कुमलुङ क्षेत्र नछोडे आउँदो भदौ २४ गतेदेखि केबलकार निर्माण लाइसेन्स खारेज नगरेसम्म ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारदेखि मुक्कुमलुङ जाने तल्लो फेदीसम्म अनिश्चितकालीन यातायात बन्द गर्ने कार्यक्रम रहेको जानकारी गराए ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ -‘सरकारी र ब्यापारी समूहबाट बलमिच्याई गरेर जनपथ प्रहरी र सशस्त्र प्रहरी प्रयोग गरेर केबलकार निर्माण गर्न दलबलसहित गएको र न्यायका लागि लड्ने योद्धाहरूलाई पक्रेर थुन्नु अन्यायको पराकाष्ठा भएकाले अव उप्रान्त केवलकार निर्माण लाइसेन्स खारेज नभएसम्म आन्दोलन घोषणा गरेका छौ । जसको लागि मुक्कुमलुङमा केबलकार निर्माण गर्ने ब्यापारिक कम्पनीलाई केवलकार निर्माणको कार्यालय बन्द गर्न र मुक्कुम्लुङ छोड्न ७ दिने अल्टिमेटम दिन्छौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, लिम्बु थरगत संस्था(याक्थुङ सयङ) सहजिकरण समुहका संयोजक नन्द कन्दङवा, पहिचानवादी मोर्चाका नेता खगेन्द्र माक्खिम, अभियन्ता राम मादेनले भने- ‘राज्य, स्थानीय नगरपालिका र गाउँपालिकाहरूले अन्यायको विरोध गर्न नपाउने गरी निषेधाज्ञा जारी गर्नु, भ्रम छर्नु, दिनदहाडै मुन्धुमीस्थल समाप्त गर्ने प्रपञ्चको निरन्तरता हो । सदियौदेखि मिलेर बसेको समाजलाई जबरजस्त अन्यायलाई निरन्तरता दिएर भड्काउने, भाड्ने षडयन्त्र तत्काल बन्द गर्न चेतावनी दिन्छौ ।’

‘मिति २०८१ जेठ ०५ गते जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको रोहवरमा आन्दोलनरत पक्ष र जिल्लास्थित राजनीतिक दलहरूको परामर्श र छलफलबाट सहमति नभई मुक्कुमलुङमा निर्माण कार्य नगर्ने, नगराउने भन्ने सम्झौता उल्लंघन भएको छ,’ विज्ञप्तीमा भनिएको छ ।

आदिवासी लिम्बू समुदायले पवित्र मुन्धुमी थलोका रुपमा हजारौं वर्षदेखि पुज्दै आएको मुक्कुमलुङलाई  राज्यसत्ता र शक्तिको आडमा हिन्दूकरण गरी पाथिभरा देवीका रुपमा अतिक्रमण गरी समाप्त पार्न केबुलकारलाई मुख्य हतियार बनाइएको आन्दोलनकारीको भनाई छ ।

मुक्कुमलुङलाई मुन्धुमीस्थलको रुपमा नियन्त्रण, संरक्षण गर्न र पाथिभरा क्षेत्र विकास समितिको सट्टामा मुक्कुमलुङ क्षेत्र विकास समिति हुनुपर्ने अडान सहित विगत ६ वर्षदेखि आन्दोल गर्दै आएको जानकारी गराउँदै विज्ञप्तीमा भनिएको छ- ‘राज्यसत्ता र शक्तिको आडमा मुक्कुमलुङलाई अतिक्रमण गरी पाथिभरा बनाइएको, मुन्धुमवादीहरूको अनुमति, मञ्जुरी र स्वीकृतिविना त्यहाँ केबलकार बनाउन स्वीकृति दिेने, मुक्कुमलुङ समाप्त गर्ने गुरुयोजना अन्तर्गत केवलकारलाई प्रमुख माध्यम बनाइएको मुन्धुमवादीहरूको ठहर छ ।’

विज्ञप्ती:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार