
इलाम: राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिदै शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गरेका छन् ।
प्रजातन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै भनेका छन् ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।’
‘सुशासनमार्फत् मुलुकको विकास र समृद्धि नै संघीय लोकतान्त्रिक गणतन्त्रको अभीष्ट हो । संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन र तीव्र विकासको बाटो पहिल्याउन यहि फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्नु हामी सबैको साझा दायित्व हो । यस अवसरमा म निर्वाचनलाई सफल बनाउन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक अपिल गर्दछु’ शुभकामना सन्देशमा उल्लेख छ ।
राष्ट्रपति पौडेलले जारी गरेको सन्देशमा भनिएको छ ‘संघीय लोकतान्त्रिक गणतन्त्र हामी नेपालीले सात दशक भन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्त्वपूर्ण उपलब्धि हो । लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धि सहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउँछ । जनता नै राज्य शक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतालाई यसले स्थापित गरेको छ । नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अंगिकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।’
वि.सं. २००७ सालको क्रान्ति सफल भएर निरङ्कुशता विरूद्धको बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप मानव अधिकार तथा नागरिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँदै आएको पौडेलले उल्लेख गरेका छन् ।
‘मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्दछ भन्ने मान्यतालाई जनताको संघर्ष तथा सहिदको बलिदानबाट स्थापित गरेको हुनाले यस दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनको रूपमा अंकित छ राष्ट्रपतिको सन्देशमा भनिएको छ ‘लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र जनता आफैंले बनाएको वर्तमान संविधान निर्माणको एउटा महत्त्वपूर्ण जग वि.सं. २००७ सालको क्रान्ति थियो भन्ने हामीले बिर्सन हुन्न । यस कारण प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउनुका साथै सहिदहरूको अमर गाथा पनि सदैव स्मरण गराउँछ ।’
शुभकामना सन्देश:


73 पटक हेरिएको 














