चुलाचुलीः इलामको चुलाचुली गाउँपालिकामा बसोबास गर्ने २४ भूमिहीन परिवारले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेका छन् ।
उनिहरूलाई बुधबार चुलाचुलीमा भएको एक कार्यक्रममा भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रदान गरिन् ।
सहकारी तथा गरिबी निवारण मन्त्री श्रेष्ठले भूमि आयोगले भूमिहीन तथा सुकुम्बासीको काम अघि बढाइरहेको बताउँदै दर्ता प्रमाण पूर्जा उपलब्ध गराउने कामलाई तीब्रता दिने जानकारी गराइन् । उनले मन्त्री भएर लिएको उद्देश्य समेत जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रमले कार्यान्वयनमा ल्याएको बताइन् ।
भूमि आयोगको जिल्लास्थित समितिका अध्यक्ष भक्त केसीले अघिल्ला आयोगहरुले गरेका अधुरा कामलाई पूरा गर्दै चुलाचुलीका अव्यवस्थित बसोबासीलाई दर्ता प्रमाण पूर्जा उपलब्ध गराउने कामको थालनी भएको बताए ।
समितिले अहिलेसम्म जिल्लाका दश पालिकामध्ये सूर्योदय नगरपालिका, माई नगरपालिका र रोङ गाउँपालिकामा भूमिहीनहरुले दिएको आवेदन अनुसार जग्गाको नापजाँच गरेर काम अघि बढाइएको छ ।
जिल्लाको तीन पालिकाबाट मात्र अव्यवस्थित बसोबास गर्नेको तथ्याङ्क आएको जानकारी गराउँदै दलित सुकुम्बासी र भूमिहीन सुकुम्बासीको भने तथ्याङ्क आउन बाँकी रहेको आयोगले जानएको छ ।