रोङ गाउँपालिकाले विद्यालय शिक्षा सुधार अभियान सञ्चालन गर्ने


सेवारो खबर  195 पटक हेरिएको

कोल्बुङः इलामको रोङ गाउँपालिकाले शिक्षा दिवसको अवसर पारेर मंगलबार विद्यालय शिक्षा सुधार अभियानका घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले शिक्षा दिवसका अवसरमा अभियानको घोषणा गरेका छन् ।

अभियानले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शिक्षक, विद्यार्थी र स्थानीय सरकारसँग चार खम्बे नीति कार्यान्वयन गर्ने बताइएको छ । यस्तै अध्यक्षसँग विद्यार्थी कार्यक्रम गरिने छ ।

विद्यालयमा आधारित उद्यमशीलता विकास गर्ने, प्रविधिमैत्री शिक्षण तथा एकीकृत अनुगमन प्रणालीको कार्यान्वयन गर्ने छ । शिक्षक, कर्मचारी तथा सामुदायिक विद्यालयको क्षमता विकास गरी शिक्षा प्रतिको अपनत्व विकासको कार्यक्रम अभियानले सञ्चालन गर्ने अध्यक्ष स्याङ्बोले जानकारी गराए ।

विद्यालयको सुरक्षित र गुणस्तरीय भौतिक पूर्वाधार, प्रभावकारी स्थानीय पाठ्यक्रम निर्माणको काम गर्नेछ । खेलकुद तथा रोङ प्रतिभाको खोजी गर्न अभियान घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष स्याङ्बोले शिक्षा सुधारमा शिक्षकसँगै विद्यार्थी, अभिभावक र सरकार बराबर जिम्मेवार भएको बताउँदै भने ‘शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने गलत हो, गलत बुझाइलाई चिर्नका लागि शिक्षक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् । त्यति नै विद्यार्थी, अभिभावक र सरकार पनि जिम्मेवार हुन्छ । सरकारले शिक्षा सुधारका नीति बनाउनुपर्छ ।’

गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न विद्यालय स्तरीय अतिरिक्त कृयाकलाप सम्पन्न भएको थियो ।

दिवसका अवसरमा कविता, निबन्ध लेखन, चित्रकला, अभिनय, हाजिरी जवाफ लगायत प्रतियोगिता भएको थियो । प्रतियोगितामा गाउँपालिकाभित्रका विभिन्न विद्यालयले सहभागिता जनाएका थिए । विधागत रूपमा उत्कृष्ट तीन विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । रोङमा ३० वटा सामुदायिक विद्यालय रहेका छन् ।

कार्यक्रमको अवसरमा ११ जना सेवा निवृत्त शिक्षकलाई सम्मान समेत गरिएको थियो । केही शिक्षकलाई भने मरणोपरान्त सम्मान गरिएकोे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार