मंगलबार आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदै

मंगलबार सार्वजनिक विदा


सेवारो खबर  157 पटक हेरिएको

कतारी अमिरको मङ्गलवारबाट सुरु हुने भ्रमणमा नेपालले आप्रवासी कामदारको सुरक्षालाई प्राथमिकतामा राख्नुपर्ने अधिकारवादी संस्थाहरूले बताइरहँदा अधिकारीहरूले श्रम सम्झौताको नवीकरण भ्रमणको एउटा प्रमुख एजेन्डा रहेको अधिकारीहरूले बताएका छन् ।

कतारमा करिब पाँच लाख नेपाली श्रमिक रहको बताइन्छ र मध्यपूर्वको उक्त देशले सन् २०२२ को विश्वकप फुटबल आयोजना गर्दा नेपालबाट गएको ठूलो श्रम शक्तिले त्यसमा योगदान पुर्‍याएको थियो ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणका क्रममा श्रमिकका हकहित र उक्त मध्यपूर्वको देशबाट नेपालमा लगानी भित्र्याउने मुद्दाहरू उठाइने नेपाली अधिकारीहरूले जनाएका छन् ।

एउटा अन्तर्राष्ट्रिय अधिकारवादी संस्थाले नेपाली कामदारहरूले अझै पनि भोग्ने गरेका शोषणको सम्बोधन र सुरक्षाको सुनिश्चितता गर्ने हिसाबले ठोस प्रतिबद्धता कतारबाट माग गरिनुपर्ने बताएको छ ।

कतारका लागि नेपाली राजदूत के भन्छन् ?
कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले श्रम सम्झौताको नवीकरण भ्रमणको एउटा प्रमुख एजेन्डा भएको भन्दै त्यसलाई टुङ्ग्याउन प्रयास गरिने बताए ।

उनले भने, “सन् २००५ मा दुई देशबीच भएको श्रम सम्झौतालाई पुनरवलोकन गर्ने क्रममा छौँ । ज्याला पनि वृद्धि हुनुपर्‍यो, समय सापेक्ष बनाइनुपर्‍यो, पूणर्कालीन बिमा गर्नुपर्‍यो। उच्च तहका व्यक्तिलाई प्राथमिकतामा राख्नुपर्‍यो र कोटाहरू बढाउनुपर्‍यो भनेर त्यो श्रम सम्झौता पुनरवलोनमा राखेका छौँ । कतिपय कुरा अन्तिम भएको छ भने कतिपय छलफलकै क्रममा छ। यस पटक सकिएन भने पनि पुनः मन्त्री स्तरका भ्रमणहरू गराएर त्यसलाई टुङ्ग्याउने कसरतमा हामी छौँ ।”

कतिपय अधिकारवादी संस्थाहरूले विश्वकप फुटबल सम्पन्न भएपछि पनि कतारमा नेपालीसहितका आप्रवासी कामदारहरूले कष्टकर जीवन बिताउनु परिरहेको बताउने गरेका छन् ।

तर राजदूत ढकालले कतार सरकारका श्रम सम्बन्धी नीतिहरू राम्रा रहेको उल्लेख गर्दै सरकारी नियम भन्दा पनि निजी क्षेत्रका कामदारहरूका विषयमा केही सवालहरू उठेको बताउँछन् ।

उनले थपे, “फुल टाइम इन्स्युरेन्सबाहेक सरकारका तर्फबाट गरिदिनुपर्ने अन्य कुनै काम बाँकी छैन् ।”
गएको नोभेम्बरमा नै कतारी अमिरको नेपाल भ्रमण गराउने तयारी भएको भएपनि विभिन्न कारणले त्यो स्थगित भएको थियो ।

राजदूत ढकालले अरब देशहरूबाट पहिलो पटक राज्य प्रमुखको तहमा नेपालको भ्रमण भएकाले यसलाई सरकारले ऐतिहासिक रूपमा लिएको बताए ।

कतार नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य रहेको भन्दै उनी भन्छन्, “यो भ्रमणले जनता जनता तहको जुन सम्बन्ध थियो त्यसलाई उच्च तहसम्म पुर्‍याउन सहयोग गर्नेछ ।”

नेपालको परराष्ट्र मन्त्रालयले के भनेको छ ?
परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा कतारका अमिर दुई दिने नेपाल भ्रमणमा आउन लागेको जनाएको छ ।

दुई जनाबीच भेटवार्ता भएपछि मङ्गलवार नै राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

बुधवार कतारी अमिर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच दुई पक्षीय छलफल हुने कार्यक्रम छ ।

औपचारिक वार्तापछि दुवैले दुई पक्षीय सहमति र समझदारीपत्रहरूमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

सरकारकी प्रवक्ता तथा सूचना एवं प्रविधिमन्त्री रेखा शर्माका अनुसार दुई देशले पर्यटन, खेलकुद र सञ्चारसहित विभिन्न मन्त्रालयसँग सम्झौता एवं एमओयू हुने बताइन् ।

उनले भनिन्, “दुई देशको मित्रताका हिसाबले दुवै देशलाई फाइदा हुने र मूल रूपमा हामीले भन्दा हामीलाई फाइदा हुने हिसाबले केही सम्झौता गर्छौँ। त्यसले नेपालमा राम्रै छाप छोड्छ ।”

अमिरको भ्रमणका समयमा नेपालले कतारलाई एक जोडी हात्ती उपहार दिने तयारी गरेको राजदूत ढकाल बताउँछन् ।

भ्रमणका क्रममा हस्ताक्षर गरिने सम्झौता र समझदारीपत्रहरूबारे मन्त्रिपरिषद्ले निणर्य गर्ने भनिएको छ । @www.bbc.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार