भारतीय टोलीले पनि त्रिशुली दुर्घटनामा हराई रहेका यात्रु र बसको खोजीमा उपलब्धि हासिल गरेन


सेवारो खबर  111 पटक हेरिएको

चितवन : चितवनको सिमलताल दुर्घटनामा हराइरहेका ३६ जना यात्रु र उनीहरू यात्रारत दुईवटा बसको खोजीका लागि आएको भारतीय टोलीले त्रिशूली नदीमा पानीको वेग “आफूहरूले सोचेको भन्दा धेरै” भएका कारण उपलब्धि हासिल गर्न नसकेको बताएको नेपाली अधिकारीहरूले जनाएका छ।

पानीमा खोजीका लागि प्रयोग हुने सोनर क्यामेरा, चुम्बकसहितका उपकरण लिएर आएको चार जना गोताखोर र प्राविधिक समेतको १२ जनाको टोली आइतवार स्वदेश फर्किएको छ।

नेपालबाट बिदा हुनुअघि भारतीय टोलीले उच्च वेग सहितको धमिलो पानी भएका कारण आफूहरूसँग भएका उपकरणले नतिजा नदिएको प्रतिक्रिया दिएको एक अधिकारीहरूले बताए।

“उहाँहरूले जाने बेलामा त्रिशूलीको पानीको वेग र धमीलोपन सोचेभन्दा पनि धेरै रहेछ, हाम्रो लागि पनि राम्रो सिकाइ र नयाँ अनुभव भयो भन्ने कुरा गर्नुभयो,” भारतीय टोलीलाई आइतवार बिदाइ गरेका चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भूसालले भने।

भारतको न्याश्नल डिजास्टर रेस्पोन्स फोर्सका विशेषज्ञहरूले एक सातासम्म गरेको खोजीबाट पनि बस र थप बेपत्ताहरू पत्ता लाग्न सकेनन्।

नेपालको अनुरोधमा आएको भारतीय प्राविधिक टोली साउन ६ गतेबाट एक सातासम्म नेपालका सुरक्षा निकायहरूसँग मिलेर खोजीमा खटिएको थियो।

हालसम्म दुर्घटनामा परेका २५ जना यात्रुहरूको शव नेपाल र भारतका विभिन्न ठाउँमा भेटिएको छ भने दुर्घटनाको १७औँ दिनसम्म पनि ३६ जनाको अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन्। साउन ७ गतेबाट थप शवहरू पनि भेटिएका छैनन्।

खोजी र उद्धार कार्यमा समन्वय गरिरहेका सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रका प्रशिक्षक प्रहरी वरिष्ठ उपरीक्षक माधव पौडेलले भारतीय टोलीले पनि त्रिशूलीको जटिलता आफूहरूका लागि नौलो भएको आफूहरूसँग बताएको जानकारी दिए।

“नदीका खोँचहरूको विकटता र तीव्र बेगका कारण हामीसँग भएका गंगा नदीमा समेत प्रभावकारी भएका उपकरणहरूले पनि काम गर्न सकिएन भन्ने उहाँहरूको कुरा थियो,” पौडेलले भने।

“पानीको वेगका कारण भएका उपकरणले पनि एक ठाउँमा स्थिर भएर हेर्न सकिएन। पानीको वेग कम भएको ठाउँमा त्यही उपकरणले खोज्छ तर त्रिशूलीमा पानीको वेग बढी भएका कारण राम्रो नतिजा दिएन।”@bbc.comबाट ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार