
इलाम: किरात याक्थुङ चुम्लुङले दुई पुरस्कारको नतिजा सार्वजनिक गरेको छ । बार्षिक रुपमा वितरण गर्दै आएको कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम र कियाचु साम्केलो केवाफूङ्वा सङ्गित कोष पुरस्कारको नतिजा सार्वजनिक गरेको करात याक्थुङ चुम्लुङले जनाएको छ ।
कियाचु रत्नशोभा-शुभलक्ष्मी मुन्धुम पुरस्कार युमा साम्यो महासभा नेपालद्वारा प्रकाशित मेहरमान लाबुङ र हर्कजंङ कुरुम्बाङद्वारा संकलित/सम्पादित तङसिङ मुन्धुम २०७९ दोस्रो संस्करणलाई प्रदान गरिने मुन्धुम पुरस्कार छनौट समितिले जनाएको छ ।
एक लाख नगद र प्रमाण पत्र सहितको पुरस्कार किरात याक्थुङ चुम्लुङ पूर्व केन्द्रीय अध्यक्ष स्व:मञ्जुल कुमार याक्थुङबा फोम्बोले स्थापना गरेका हुन ।
अर्जुन लिम्बुको संयोजकत्वमा भीमप्रसाद लिम्बू यासेली योङहाङ र निशेष आङ्देम्बेको पुरस्कार छनौट समितिले पुरस्कृत व्यतित्व तथा कृतित्वको छनौट गरेको किरात याक्थुङ चुम्लुङको संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए ।
कियाचु साम्केलो केवाफूङ्वा सङ्गित कोषले गीतकार संगितकार र गायन तीन वटै विधामा पुरस्कार दिदै आएको छ । यो वर्ष कोषले कियाचु साम्केलो केवाफूङ्वा चुम्लुङ गीतकार पुरस्कार कलाकार प्रेम पन्धाकको याक्थुङ फूङ एल्बमको थोकफेत्ला फेक्ते पालाम शब्दलाई दिने निर्णय गरेको छ ।
कियाचु साम्केलो केवाफूङ्वा चुम्लुङ सङ्गित पुरस्कार यासेली योङहाङको केलाङ साम्लो संगीत र कियाचु साम्केलो केवाफूङ्वा चुम्लुङ गायन पुरस्कार भगत सुब्बा लाजेसा याक्थुङबाको लिम्बू गीति संगालो भोलम १ भित्रको हाक्फारे २०४८ लाई पुरस्कृत गर्ने पुरस्कार छनौट समितिले जनाएको छ ।
किरात याक्थुङ चुम्लुङले स्थापना गरेको पुरस्कार छनौट समिति गोविन्द आङबुङको संयोजकत्वमा मोहन मादेन बुद्दराज इङवा भीमा खजुम रहेको पुरस्कार छनौट समितिले लिम्बु याक्थुङ गीतको शब्द, संगीत र गायकको छनौट गरेको बताइएको छ ।
शब्द, संगीत र गायनलाई प्रदान गर्दै आएको पुरस्कार जनही २५/२५ हजारको दरले दिइने चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले जानकारी गराए ।
पुरस्कार किरात याक्थुङ चुम्लुङको ३६ औं स्थापना दिवसका दिन आउँदो भदौ १७ गते वितरण गरिने किरात याक्थुङ चुम्लुङले जनाएको छ ।

184 पटक हेरिएको 








