इलाम: पाँचथरमा भएको विष्फोटको घटनाप्रति मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आयोगले शुक्रबार एक विज्ञप्ती जारी गर्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको माग गरेको छ ।
पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँ स्थित आइतराज केरुङको घरमा बिष्फोटमा परी दिलिप सावाको २ बर्षीया छोरी प्रिन्सा सावा र ११ बर्षीय छोरा दिप्सन सावाको ज्यान गएको छ । घटनामा १० वर्षका पवन राई ७ वर्षका दिप्सन राई घाइते भएकोमा मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
बालबालिकाहरु घरको छेउमा खेल्ने क्रममा विष्फोटक पदार्थ विष्फोट हुँदा चार जना घाइते भएका थिए । घाइते मध्ये २ वर्षकी प्रिन्साको उपचारमा लैजादै गर्दा बाटैमा ज्यान गएको थियो । ११ वर्षका दिप्सन उपचारको क्रममा मृत्यू भएको हो । अन्य घाइतेको पाँचथर अस्पतालमा उपचार भइरहेको आयोगको अनुगमनमा पाइएको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ – ‘निर्दोष बालबालिकाको ज्यान जानेगरी भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न, घाइतेको निशुल्क र प्रभाकारी उपचारको व्यवस्था मिलाउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न र जथाभावी छोडिएका यस्ता विष्फोटक पदार्थहरु निष्कृय पारी पुन यस प्रकारका घटना दोहोरिन नदिन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ ।’
‘विस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५१४ मा दुबै पक्ष युद्धको समयमा प्रयोग गरिएका धराप तथा बारुदी सुरुङहरुको रेखाङ्कन भण्डारण ३० दिन भित्र एक अर्कालाई जानकारी दिने । ६० दिन भित्र निष्कृय र निर्मुल गर्न एक अर्कालाई सहयोग गर्नेछन् भन्ने उल्ले गरिएको छ । पाँचथरमा भएको विष्फोट द्वन्दकालमा द्वन्दरत पक्षबाट जथाभावी छाडिएको विष्फोटक पदार्थ हुन सक्ने आशंका रहेको छ । विज्ञप्तीमा भनिएको छ-विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष पुरा हुन लाग्दा समेत न्यायको पर्खाइमा रहेका सशस्त्र द्वन्दकालका पीडितहरुले न्याय पाउँन नसकेको र आयोगको पटक पटक यस प्रकारका विष्फोटक पदार्थ हटाउन र त्यसको प्रगती आयोगमा जानकारी गराउन सिफारिस समेत गरेको सन्दर्भमा विष्फोटको घटनाबाट बालबालिकाले ज्यान गुमाउनु पर्ने अवस्थाको सिर्जना हुँनु अत्यन्त दुखद हो ।’
प्रहरीका अनुसार विष्फोटको घटना
घटनाका विषयमा प्रहरीका अनुसार बिगत १० बर्ष देखि आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञानबहादुर राईको स-परिवार बस्दै आएका थिए । भादौ १३ गते अपरान्ह ३ बजे ज्ञानबहादुरको १३ बर्षीय छोरा पवन राई, छिमेकी दिलिप सावाको ११ बर्षीय छोरा दिप्सन सावा, २ बर्षीया छोरी प्रिन्सा सावा र दिपक राईको ७ बर्षीय छोरा दिप्सन राई भेला जम्मा भई आगनमा खेलीरहेको अवस्थामा अचानक बिष्फोट भएको थियो ।
बिष्टफोटबाट घाईते भएका चारै जनालाई तत्काल प्रहरी चौकी प्राङवुङबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारार्थ स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा लगिएकोमा ७ बर्षीय दिप्सन राईको अवस्था सामान्य थियो । अन्य ३ जना घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर ल्याईएकोमा दिप्सन र प्रिन्सालाई थप उपचारको लागि लगिएकोमा जिल्ला अस्पताल इलाममा र दिप्सन सावाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको पछाडि बारीको काँल्लामा समेत संकास्पद डल्लो बस्तु फेला परेको थियो । फेला परेको शंकास्पद वस्तु जिल्ला प्रहरी कार्यालयको प्रहरी अधिकृत सहितको टोली र रणशेर गण ओदिन ब्यारेकबाट नेपाली सेनाको टोली घटना स्थलमा भदौ १४ गते ११:२५ बजे डिस्पोज गरेको थियो ।
संकास्पद बस्तु घरमा बनाइएको सकेट रहेको पुष्टि भएकोले घटना सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
आयोगको विज्ञप्ती: