इलाम: किरात याक्थुङ चुम्लुङका संघीय सल्लाहकार तथा नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व कुलपति, कवि बैरागी काइलाले सामाजिक सांस्कृतिक उत्थान गर्न सम्पूर्ण किरात जाति एकताबद्ध हुनु पर्ने बताए ।
चुम्लुङको ३६ औं स्थापना दिवसको मुल समारोह काठमाण्डौमा सोमबार बोल्दै किरात जातिमा विभिन्न कुल बंशहरु छन् ती सबै बंश एकताबद्ध हुन सक्यो भने मात्र सामुदायिक विकास सम्भव हुनेमा जोड दिए ।
“एकताबद्ध भइयो भने मात्र बलियो हुन्छौ सल्लाहकार काइलाले भने – हाम्रो भाषा, साहित्य संस्कृतिलाई बचाउनु पर्छ । चुम्लुङले जीवनका विविध पक्षमा ध्यान दिएर काम गर्दै आएको छ । हामी सबै याक्थुङबाले साथ दिनुपर्छ ।”
नेपाल प्राज्ञ प्रतिष्ठानका पूर्व कुलपति भइसकेका काइलाले याक्थुङबा लोभ,लालच, आँखी,डाँही लागेको बताउँदे भने – “याक्थुङबा एक अर्कामा नाहेन परेको छ । मुन्धुम अनुसार गाली, श्राप, बगाएर एक अर्कामा राम्रो बोलीवचन र सम्बन्ध निर्माण गर्न आवश्यक छ । हामी बीचमा सदभावनाको विकास गरौ । सहनशिलता जगाउँदै सम्बन्ध चोखो राम्रो बनाऔं । मुन्धुमको राम्रो पक्षलाई अघि बढाऔं ।”
याक्थुङ जातिको संस्कार, संस्कृति, धर्म, भाषालिपी, मातृभाषा, आर्थिक उत्थान, राजनीतिक अधिकारको विषय उठाउनु किरात याक्थुङ चुम्लुङको कर्तव्य भएको बताउँदै कवि बैरागी काइलाले चुम्लुङ सामाजिक संस्था भएपनि मानव अधिकारवादी संस्था भएकाले यस्ता आवाज उठाईरहनु पर्ने उल्लेख गरे ।
“समयक्रममा चुम्लुङले नै भाषा संस्कृतिक प्रति सचेत गरायो । जति बेला याक्स्वाथुङबा हरेक हिसाबले स्वामित्व बिहिन हुँदै गर्दा चुम्लुङले नै ज्ञान दिएर सचेत बनाएको छ, सल्कालाहकार काइलाले भने-जातिलाई बचाउने संस्कृति हो । धर्मले त जातिलाई विभाजन गर्छ । मुन्धुम सांस्किृतिक दस्तावेज हो, र सामाजिक उत्थानको इतिहास हो । यसको संरक्षण र विकासमा हामी सबै लाग्न आवश्यक छ ।”
“हामीले कतै मुन्धुम त कतै खाजोङ बिर्सेका छौ । तर यससँग सम्बन्धित लेखक संकलक मुन्धुमसाबाले यसलाई संकलन, दस्तावेजिकरण गरेर सिलशिलाबद्ध बनाउनु वर्तमानको आवश्यकतामा काम गर्ने जोकोहीलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनिहरु हाम्रा सम्पत्ति हुन । -पूर्व कुलपति काइलाले भने -किरात जन्य संघसंस्था समुदाय एकजुट हुनुको विकल्प छैन ।”