
इलाम: इलामको सूर्योदय नगरपालिकाले ५० हजार फलफुल, घाँस तथा विभिन्न जातको बिरुवा रोप्ने अभियान थालेको छ । खाली रहेको निजी तथा सार्वजनिक जग्गामा बृक्षारोपण अभियान बुधबार शुरु गरेको हो ।
तीन दिनसम्म चल्ने अभियानमा जनप्रतिनीधि आफ्नो वडाको बृक्षारोपण कार्यक्रममा सहभागी हुने नगर प्रमुख रणबहादुर राईले जानकारी गराए । अभियानमा टोल विकास संस्था, विद्यालय विद्यार्थी समेत सहभागी हुने बताइएको छ ।
अभियान सफल पार्न नगरपालिकाले २५ हजार विभिन्न जातका फलफूल, डालेघाँस लगायत विरूवाको व्यवस्थापन गरेको छ ।
प्रत्येक बडामा एक जना वडडासदस्य अभियान कार्यको निम्ति फोकल व्यक्ति तोकिएको छ । अभियानलाई सफल पार्न वडा कार्यालयबाट विरूवा उपलब्ध गराएको छ । बृक्षारोपण पछि प्रगति तथा रोपणको बारेमा कार्यपालिका हुदै सभामा जानकारी हुने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले बुधबार वडा नम्बर १० को फेन्सोङ गुम्बा परिसरमा बृक्षारोपण गरी अभियानको उद्घाटन गरेको छ । अभियान उद्घाटनको अवसरमा नगर प्रमुख रण बहादुर राई र नगर उप प्रमुख दुर्गा कुमार बरालले बिरुवा रोपेर अभियानको शुभाराम्भ गरेका हुन । कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
नगरले सल्ला, अम्बक, कटहर , बडर , लिजी सहितका बिरुवा बिभिन्न ठाउँवाट खरीद गरी ल्याएको बिरुवा खाली रहेका सार्वजनिक जमिन, कार्यालय परिसर र निजी जमिनमा रोप्नका लागि १४ वटै वडामा निशुल्क बितरण गरिने नगरको बन वातावरण तथा बिपत ब्यवस्थापन शाखा प्रमुख इश्वरी अधिकारीले जानकारी दिए ।

134 पटक हेरिएको 











