
काठमाडौ: आदिवासी जनजातिका भाषालाई डिजिटल माध्यमबाट प्रयोगमा ल्याउन जरुरी रहेको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले बताएका छन् ।
बिहीबार वसन्तपुर डबलीमा भएको ‘प्रोमोटिङ इन्डिजिनियस नलेज सिस्टम’ (आदिवासी ज्ञान प्रवर्धन) कार्यक्रममा बोल्दै आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपिलाई डिजिटल माध्यममा प्रयोगमा ल्याउँनु पर्नेमा जोड दिए ।

३१औं विश्व आदिवासी दिवस कार्यक्रम आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को नेपाल र एफएओ नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा ‘कृत्रिम बौद्धिकता (एआई) र प्रविधि प्रयोग गरेर आदिवासी जनजातिका हराउँदै गएका भाषा, लिपि, मौखिक परम्परा, गीत, कथा, वस्तुकला, औषधीय ज्ञानजस्ता सम्पदालाई जोगाउन र विश्वभर चिनाउन सकिन्छ’ भने ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी समुदाय धेरै समयदेखि अधिकारका लागि संघर्ष गरिरहेको बताए । उनले भने, अझैपनि आदिवासी जनजातिका खाद्यान्नसम्बन्धी ज्ञान तथा परम्परागत सीपलाई उपयोगमा ल्याउन सकिएको छैन ।’

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले ३१औं विश्व आदिवासी दिवस सरकार र सम्बन्धित निकायसमक्ष आवाज पुर्याउने मौका भएको बताए । उनले यसै अवसरमा महासंघले साता व्यापी लामो कार्यक्रमकझ तयारी गरिरहेको जानकारी समेत गराए ।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष ङिमी शेर्पाले आदिवासी खाद्यान्न र परम्परागत ज्ञानको संरक्षणमा महिलाको भूमिका ठूलो रहने बताइन् । विकासका नाममा आदिवासीहरू आफ्नो थलोबाट विस्थापित भइरहेका कारण यसतर्फ सबैले ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले बागमती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजको भाषा बनिसकेको र गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई पनि त्यही हैसियत दिलाउने प्रयास भइरहेको बताए ।

कार्यक्रममा नेवार, थारु, तामाङ, गुरुङ, मगर, सुनुवार, भुजेल, माझी, छन्त्याल र थामी समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो। त्यस्तै, थारु कल्याणकारिणी सभा (थाकस) ले थारु परिकारहरू प्रदर्शन गर्यो । थारु खानामा घोङ्घी, अनदीको भात, भक्का, गंगटा, महुवाको रक्सी, ढिक्री, बरिया, बयरको चटनी, चिच्चर, खुर्मा, जाँरको झोलजस्ता परिकार प्रदर्शनमा राखेका थिए । थाकसका अध्यक्ष प्रेमीलाल चौधरीका अनुसार, पूर्वदेखि पश्चिमसम्मका परिकार प्रस्तुत गरिएको थियो । साथै, नेवार समुदायका परम्परागत खाजाहरू पनि प्रदर्शन गरिएका थिए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, सांसद उर्मिला माझी, आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरू नगेन्द्रकुमार कुमाल, जगत बराम, पत्रकार महासंघ (फोनिज) का अध्यक्ष लक्की चौधरी, विद्यार्थी महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीलगायतको उपस्थिति थियो ।

153 पटक हेरिएको 














