
इलाम: इलामको सन्दकपुर गाउँपालिकामा ४ दिवसीय तेस्रो रेडपाण्डा महोत्सव हुने भएको छ । गाउँपालिकाले चैत २० गतेदेखि २३ गतेसम्म महोत्सव हुने शुक्रबार इलाममा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको छ ।
रेडपाण्डा पदमार्गमा आधारित पर्यटन महोत्सव भएपनि यस वर्ष वडा नम्बर ४ को कालपोखरी क्षेत्रमा महोत्सव हुने आयोजक समितिका संयोजक सनम राईले बताए ।
संयोजक राईका अनुसार चैत २० गते बिहानै सन्दकपुर डाँडाबाट सूर्योदयको दृष्यावलोकन पछि कालपोखरी क्षेत्रमा महोत्सवको औपचारिक उद्घाटन हुनेछ । उदघाटनपछि सोहि दिन पूर्वी नेपालको पर्यटन विकासमा सन्दपकपुरको भूमिका विषयमा छलफल हुने कार्यक्रम तय भएको छ ।
महोत्सवको दोस्रो दिन कालपोखरीदेखि माबुथामसम्म पदयात्रा हुनेछ । पदयात्रा पुन: कालपोखरी पुगेपछि वनजंगल पर्यटनको सम्भावना र चुनौती विषयमा समुहगत रुपमा छलफल हुने पत्रकार सम्मेलनमा बताइएको छ ।
तेस्रो दिन बिहानै कालपोखरीदेखि कैयाँकट्टासम्मको पदयात्रा हुनेछ । पदयात्रा कैयाँकट्टादेखि फर्किएपछि सीमा पर्यटन अवसर र चुनौती विषयमा समूहगत छलफलको कार्यक्रम तय भएको छ ।
महोत्सवको अन्तिम दिन बिहानै कालपोखरीदेखि छिन्टापुसम्म सवारीसाधन मार्फत अवलोकन हुनेछ । दिउँसो कालपोखरीमै वक्तित्वकला प्रतियोगितासँग महोत्सव समापन हुने गाउँपालिकाले जनाएको छ ।
महोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटक सन्कपुरमा भित्र्याउने लक्ष्य रहेको महोत्सव नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा, केचना कंचनजंघा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्क लगायत संस्थाको सहयोगमा हुने बताइएको छ ।
महोत्सवको प्रवद्र्धनका लागि दिपज्योती युवा क्लव पाँचथर, टुरिजम्न फोरम झापा नेपाल, होमस्टे महासंघ नेपाल ,Siliguri photograph association, association for conservation and tourism (ACT) , सन्दकपुर ट्राभल्स एण्ड टुर्स प्रा.ली, नमस्ते कंचनजंघा नेपाल लगायतका संस्थाले सहकार्य गरेका छन् ।
महोत्सवको व्यवस्थापनको काम सन्दकपुर ४ को पद्भसंभव सामुदायीक वन उपभोक्ता समिति र पद्मसंभव समाज कालपोखरी बजारले गर्ने जनाइएको छ ।
वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन

सन्दकपुर गाउँपालिकाले वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धन गर्न वार्षिक रुपमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
गाउँपालिकाको वार्षिक कार्यक्रम मध्ये तेस्रो रेडपाण्डा महोत्सव पनि एक हो । महोत्सव विगत दुई वर्ष अघि सुरुवात गरेको हो । यस पटक भने तेस्रो महोत्सवको तयारी गरेको कार्यक्रम संयोजक सनम राईले बताए ।
कार्यक्रमले रेडपाण्डाको संरक्षणमा समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।
सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनका लागि महोत्सवका दुई संस्करण भईसकेको छ ।
गाउँपालिकामा ४३ किलोमिटर लामो पदमार्गको नाम रेडपाण्डा पदमार्ग हो । ११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चराको अध्ययन गर्न पाइन्छ ।
१५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
पदमार्ग भित्रका पर्यटकीय गन्तव्यहरुमा बढी भन्दा बढी पर्यटकहरु पुर्याउनु मुख्य उदेश्य रहेको अध्यक्ष गुरुङ्गले बताए ।
सीमावर्ती क्षेत्र भारतको पश्चिम बंगाल ठुलो बजार भएकाले भारतीय पर्यटकहरुलाई आकर्षित गर्ने पर्यटनको मुख्य उदेश्य रहेको सन्दकपुर गाउँपालिका उपाध्यक्ष हरि बहादुर लुङ्गेलीले बताउँछन् ।
रेडपाण्डा हेर्ने गतब्य बन्दै सन्दकपुर

सन्दकपुर गाउँपालिका रेडपाण्डा देख्न पाइने एक गतब्य बन्दै गएको छ । सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागी विश्वभरका पर्यटकहरु पुग्ने गरेका छन् ।
सन्दकपुरमा रेडपान्डासँगै विश्व रामसामा सुचिकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापू, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरहुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारत सीमावर्ती क्षेत्रको प्राकृतिक दर्ष्यावलोकन गर्न पाइन्छ ।
गाउँपालिकामा बसोवास गर्ने आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययन गर्न सकिन्छ ।
चिसो हावापानीसँगै, प्राकृतिक सुन्दरता र साहासिक पर्यटनको आनन्द लिनका लागि सन्दकपुर थोरै खर्चमा भ्रमण गर्न सकिने गन्तव्य हो ।
महोत्सव सम्पन्न गर्न सन्दकपुर गाउँपालिका–४ को कालपोखरीमा समन्वय बैठक सम्पन्न भएको छ । पर्यटन कार्यालय काँकरभिट्टा झापा, आयोजक सन्दकपुर गाउँपालिका, स्थानीय पर्यटन व्यवसायीहरुको उपस्थितिमा महोत्सवको तयारी बैठक गरिएको जनाइएको छ ।
महोत्सव सफल बनाउन भारतको सिलिगुडी, झापाको काँकरभिट्टा र काठमाडौँमा अन्तरक्रिया गर्ने योजना रहेको बताइएको छ ।



127 पटक हेरिएको 










