इलामः ‘इलाम गोल्डकप’ फुटबल प्रतियोगिता आउँदो माघ ६ देखि १३ सम्म इलाममा हुँने भएको छ ।
रेडहर्स फुटबल क्लबले आयोजना गर्ने गोल्डकपमा नेपाल र देशबाहिरका गरी आठ टिम सहभागी हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
यसअघि फागुन-चैतमा आयोजना गर्ने घोषणा गरिएको ‘माइभ्याली गोल्डकप’ भने केही समयलाई स्थगित गरिएको छ ।
प्रतियोगितामा आयोजकसहित चर्च ब्वाइज, एनआरटी, झापा, सुनसरी, बाग्मतीसहितका टिम सहभागी हुने आयोजक संस्थाका महासचिव प्रकाश घिमिरेले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी हुने केही टिमको टुंगो लागि सकेको छैन ।
प्रतियोगिताको विजेताले नगद पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन् । विधागत उत्कृष्ट खेलाडीको पुरस्कार भने तय हुन बाँकी नै रहेको बताइएको छ ।
रेडहर्स अध्यक्ष सांगे लामाले ५० लाख रुपैयाँभन्दा माथि खर्च हुने प्रतियोगिताको तयारी धमाधम भइरहेको जानकारी गराए ।
पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व सदस्य निरोज खड्गीले प्रतियोगिता सञ्चालन गर्न स्रोतको खोजी भइरहेको बताए उनले ‘स्रोत खोजी गर्न केही समयपछि काठमाडौं जाने समेत जानकारी गराए ।
प्रतियोगितामा विभिन्न संघ, संस्थासहित तीनै तहका सरकार र गेटमनीबाट सहयोग संकलन गरिने आयोजकले जनाएको छ ।
यसअघि फागुन २४ देखि चैत ३ सम्म यही टुँडिखेलमा माइभ्याली गोल्डकप आयोजनाको घोषणा गरिएको थियो । तर, माइभ्याली फुटबल क्लब र रेडहर्सबीच भएको सहमतिअनुसार माइभ्याली गोल्डकपलाई केही समय स्थगित गरिएको छ ।
माइभ्याली अध्यक्ष दिनेश काफ्लेले रेडहर्ससँगको सहमति अनुसार माइभ्याली गोल्डकप चाहिँ केही महिना पछाडिमात्र आयोजना गरिने पनि यही पत्रकार सम्मेलनमा जानकारी गराए ।