इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले स्थापना गरेको ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८१’ सञ्चारकर्मी सुजता सुनुवारलाई प्रदान गरेको छ ।
फोनिजको २५ औं स्थापना दिवसको अवसरमा (आज)आइतबार सुनुवारलाई पुरस्कृत गरेको फोनिज इलामले जनाएको छ ।
सुनुवारलाई कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिकाका प्रमुख केदार थापाले नगद १० हजार, दोसल्ला र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरे ।
विगत डेढ दशकदेखि इलामबाट पत्रकारिता सुरु गरेकी सुजता अहिले उज्यालो रेडियो नेटवर्क र उज्ल्यालो अनलाइनमा आबद्ध छिन् ।
सुनुवारसँग इलामका दुई एफएम इलाम र रेडियो नेपालबाणीमा समाचार उत्पादन, वाचन, कार्यक्रम उत्पादक तथा प्रस्तोताको सात वर्षको अनुभव छ ।
यस्तै छापा माध्यमममा ६ वर्ष काम गरेकी छिन । उनले इक्ला साप्ताह, इलाम पोष्ट दैनिकमा काम गरेकी थिइन् ।
अनलाइन खबरको दुनियामा नयाँ बुलन्द र सरपाटी डटकममा दुई वर्षको अनुभव छ ।
नेपाल पत्रकार महासंघकी साधारण सदस्य सुनुवारको संस्थागत अनुभवमा नेपाल पत्रकार महासंघ इलाम शाखाको कार्य समिति सदस्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा सदस्यको भूमिका समेत निर्वाह गरिसकेकी छन् ।
यस्तै सामुदायिक सेवाको क्षेत्रमा सुनुवार सेवा समाजको सचिवको भूमिका निर्वाह गरिरहेकी छिन् ।
इलाम नगरपालिका ३ पुवामझुवाका बुवा प्रबल सुनुवार र आमा दुर्गमाया सुनुवारकी छोरी सुजताले पत्रकारितामा स्तानकोत्तर गरिरहेकी छन् । उनले यसअघि नेपालीमा स्नातकोत्तर हासिल गरिसकेकी छिन् ।
यही पुरस्कारबाट यसअघि इलामका इलाम पोष्ट दैनिकका सम्पादन सटेन्द्र जवेगू र माङसेबुङ मासिक म्यागजिनका कार्यकारी सम्पादन ज्ञानु केदम पुरस्कृत भई सकेका छन् ।
आदिवासी जनजातिको क्षेत्रमा कलम चलाउने बर्सेनी एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको महासंघ इलामका अध्यक्ष राम योङहाङले बताए ।
आदिवासी जनजाति एवम् अल्पसंख्यक/लोपोन्मुख आदिवासी जनजातिको व्यक्तिगत र सामुदायिक हक, अधिकार, पहिचान, मातृभाषा, लिपि, कला, सीप, धर्म, संस्कार र संस्कृति सम्बन्धीको समाचार, फिचर, लेख/आलेख, वहस/पैरवी गरी समग्र आदिवसी जनजातिको क्षेत्रमा योगदान पुर्याउने एक जना आदिवासी जनजाति पत्रकारहरुलाई पुरस्कृत गरिने बताइएको छ ।
फोनिज इलामले ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार छनौट तथा व्यवस्थापन कार्यविधि, २०७८’ तर्जुमा गरी कोष व्यवस्थापन गरिरहेको छ ।