
इलाम: इलामको फाकफोकथुम गाउँपालिकाले सुशासन, सेवा प्रवाह र विकास निर्माणलाई प्राथमिकतामा राख्दै पालिकाको समृद्दिको काम गरिरहेको छ ।
गाउँपालिकाले प्रशासनिक सेवा नियमित, प्रभावकारी र नागरिकमैत्री रूपमा सञ्चालन भइरहेको जनाएको छ ।
वडा कार्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारी निकायमार्फत प्रदान गरिने सेवाहरूलाई थप सहज र गुणस्तरीय बनाउने काम गरिरहेको पालिका अध्यक्ष दिपेन्द्र खनाल बताउँछन् ।
आर्थिक वर्षको अन्तिम चरणमा प्रवेश गरेसँगै विकास योजनाहरूको अनुगमन, मूल्याङ्कन तथा सम्पन्न भएका योजनाको भुक्तानी प्रक्रियालाई तीव्रता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले बताए ।
अधिकृत तुम्रोकका अनुसार आएको असोजमा आएको बाढी तथा प्राकृतिक विपद्का कारण केही योजना प्रभावित भए पनि हाल ठूला तथा साना दुवै प्रकारका विकास आयोजना द्रुत गतिमा अघि बढिरहेका छन् ।
गाउँपालिकामा सञ्चालित आठवटा ठूला ठेक्का योजनामध्ये केही सम्पन्न भइसकेका छन् भने बाँकी योजनाहरू पनि अन्तिम चरणमा पुगेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा कृषि क्षेत्रअन्तर्गतका विभिन्न पकेट कार्यक्रमहरू समेत सम्पन्न हुने अवस्थामा रहेका छन् ।
बेरुजु सम्बन्धी विषयमा गाउँपालिकाले स्पष्ट पार्दै हाल देखिएको करिब सात करोड रुपैयाँभन्दा बढी बेरुजु मुख्यतः लेखा प्रणाली, स्रोत मिलान तथा प्राविधिक कारणले उत्पन्न भएको जनाएको छ ।
विशेष गरी संघीय तथा प्रदेश अनुदानको हिसाब मिलान र ‘सुत्र’ सफ्टवेयर तथा बैंक विवरणबीचको फरकका कारण बेरुजु रकम उच्च देखिएको गाउँपालिकाको भनाइ छ । १५ शैयाको अस्पताल निर्माणसँग सम्बन्धित बाँकी पेस्की फछ्र्यौट भएपछि बेरुजु रकम उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ ।
विकास निर्माणतर्फ पालिकाको गौरवको आयोजनाका रूपमा रहेको १५ शैयाको अस्पताल निर्माण कार्य हाल करिब ६५ प्रतिशत सम्पन्न भएको छ ।
यसका साथै रबि–आमचोक सडक स्तरोन्नति, सिंहदेवी तथा जाल्पा माध्यमिक विद्यालयका भवन निर्माण, र वडा नम्बर ५ मा सोलार लिफ्टिङ खानेपानी आयोजना जस्ता महत्त्वपूर्ण परियोजनाहरू अन्तिम चरणमा पुगेका छन् ।
कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणलाई प्रोत्साहन गर्न उत्कृष्ट १० जना कृषकलाई ५० प्रतिशत साझेदारीमा अनुदान उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको छ । वडा नम्बर ७ मा गाई प्रवद्र्धन, वडा नम्बर ४ मा अलैंची पकेट कार्यक्रम तथा प्रदेश सरकारको सहयोगमा वडा नं ६ मा तोरी खेती प्रवद्र्धन कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेका छन् । कृषकलाई नगद अनुदानभन्दा पनि कृषि प्रविधि र उपकरण उपलब्ध गराउने नीतिमा गाउँपालिका केन्द्रित रहेको छ ।
कर्मचारी व्यवस्थापनतर्फ दरबन्दी अभाव भए पनि स्वास्थ्य तथा प्राविधिक कर्मचारीलाई अतिरिक्त जिम्मेवारी प्रदान गरी सेवा प्रवाहलाई निरन्तरता दिइएको छ । आवश्यक कर्मचारी भर्ना तथा सरुवाको प्रक्रिया समेत अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विकास निर्माण र सुशासनको अभियानमा नागरिकको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै कुनै पनि गुनासो वा सुझाव भए प्रत्यक्ष सम्पर्क गर्न सबै नागरिकलाई आग्रह गरेको छ ।

25 पटक हेरिएको 












